ललितपुर, चैत १८ । गोदावरी नगरपालिकाले समृद्ध शहर निर्माणको लक्ष्य अघि बढाउँदै वडाहरुमा छताछुल्ल पानीको सुविधा दिन बोरिङको कामलाई अघि बढाएको छ । सो नगरपालिकाभित्रका वडाहरुमा धमाधम डिप बोरिङको गर्ने काम तिव्र रुपमा अघि बढिरहेको छ ।
रु एक करोड ५० लाख लगानीमा वडा नं १० मूलडोलमा डिप बोरिङ गरी पानी निकालिसकिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी गराएका छन् । सो स्थानमा ६ इञ्चको पानी निकालिएको महर्जनले बताएका छन् । उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले रु ५० लाख, ललितपुर महानगरपालिकाले रु ५० लाख सहयोग गर्नुका साथै नगरपालिकाले छुट्टै रु २५ लाख लगानी गरेर पानी निकालेको बताएका छन् ।
सो स्थानबाट हाल प्रतिमिनेट एक हजार लिटर पानी उत्पादन भइरहेको छ । त्यसैगरीे वडा नं ९ छम्पीमा नगरपालिकाले रु ३५ लाख लगानी गरेर ६ इञ्चको पानी निकालिसकेको छ । छम्पीमा पानी निकाल्न नगरपालिकालाई केही संस्थाले सहयोग गरेको समेत नगरपालिकाका प्रमुख महर्जनले जानकारी गराएका छन् । त्यस्तै अर्काे वडा नं ८ डुकुछापमा रु ४० लाख लगानीमा ६ इञ्चको पानी निकालेको स्पष्ट पार्दै, महर्जनले भने, वडा नं १० चारघरे टाखेलमा रु २२ लाख लगानीमा अर्काे ८ इञ्चको पानी निकालेका छौँ ।
नगरपालिकाले वडा नं २ विशङ्खुमा पानी निकाल्ने सर्वेक्षण सम्पन्न गरेसँगै आइतबारदेखि रु ५० लाख लगानीमा पानी निकालिएको छ । पूरै नगरपालिकाको लगानीमा उक्त बोरिङको काम सम्पन्न भएको महर्जनले जानकारी गराएका छन् । त्यस्तै नगरपालिकाले वडा नं १ गोदामचौरमा रङ्गशाला, वडा नं २ विशङ्खुमा प्राविधिक विश्वविद्यालय र साबिकको वडा नं ३ गोदावरीमा कबर्ड हल निर्माण गर्ने योजना समेत बनाएको छ ।
गोदावरी कुण्ड मर्मतसम्भार, वडा नं ५ लेलेमा चिस्यान केन्द्र, वडा नं ७ देवीचौरमा दृश्यावलोकनस्तम्भ निर्माण, वडा नं ८ डुकुछाप स्मार्ट सिटी, वडा ९ टीकाभैरव र छम्पीमा अर्वुदरोग अस्पतालका साथै वडा नं १२ ठेचोमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरिने भएको छ ।