ललितपुर, चैत २० । सडक बत्तीको समस्या देशभर चलिरहेको बेला ललितपुरमा भने मोवाइलबाटै ट्रफिक लाइटको कन्टोल गर्ने कार्यको शुभारम्भ भएको छ । ललितपुरको जावलाखेलमा मंगलबारबाट यो प्रविधिको सुरु भएको भएको हो । यो प्रविधि नेपालमै पहिलो पटक शुभारम्भ भएको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्राफिक प्रहरीलाई मोवाइल सेट प्रदान गरेर यो कार्यको शुभारम्भ गरेका हुन् । अब सवारी चाप अनुसार ट्राफिक व्यवस्थापनका लागि मोवाइलबाटै सडक बत्तीको कन्ट्रोल गर्न सकिनेछ । यसका लागि ट्राफिकलाई प्रदान गरिएको उक्त सेटमा सडक बत्ती कन्ट्रोल गर्ने मोवाइल एप्स राखिएको छ ।एप्स जडित मोवाइलबाट मेयर महर्जनले अल्का अस्पताल अगाडी सडकमा केही मिनेट सडक बत्तीको कन्ट्रोल गर्ने प्रविधिको प्रयोग गरेर समेत अवलोकन गरेका थिए । त्यस लगातै मेयर महर्जनले त्यहाँ रहेका ट्राफिक कुन्दन कुमार शाहलाई उक्त सेट हस्तान्तरण गरेका हुन् । सडकमा हुने सावारी साधानको चाप अनुसार ट्राफिक प्रहरीले सडक बत्तीको कन्ट्रोल मोवाइलबाटै गर्न सक्ने भएका छन् ।
सवारीको चाप हेरेर ट्राफिक प्रहरीले अटोमेटिक र म्यनुअल दुबै तरिकाबाट सडक बत्तीहरुको कन्ट्रोल गर्न सकिनेछ । सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसंग यो एप्स जडित मोवाइल रहनेछ। ललितपुर महानगरपालिकाले पावरटेक नेपाल र भुस्पर्श कन्ट्रक्सन प्रा.लि.संगको समन्वयमा यो प्रविधिको भित्रयाएको हो । अल्का अस्पताल चोकमा सुरु भएको यो प्रविधि अहिले परिक्षण मात्रै भएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी गराएका छन् ।
यसअघि ललितपुर महानगरपालिकाले ६ जना ट्राफिक प्रहरीलाई यो प्रविधि सम्बन्धि तालिम समेत प्रदान गरिसकेको छ। यो प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनमा धेरै सहजता ल्याउने मेयर महर्जनको भनाइ छ । महर्जनले भने, ‘यो अहिले परिक्षणका लागि मात्रै हो । यसको सफलता हेरेर ललितपुर महानगरका अन्य १८÷२० स्थानहरुमा समेत व्यवस्थापन गछौं ।’
महानगरलाई स्मार्ट सिटी बनाउने प्रयास मध्ये यो एउटा सानो प्रयास हो । उनले भने ‘स्मार्ट सिटीको विभिन्न कम्पोनेन्ट मध्येको यो प्रविधि पनि एउटा हो।’ अल्का अस्पताल अगाडीको चोकमा अहिले यो प्रविधि सुचारु छ । उग्रचण्डी मन्दिरपट्टिबाट आउने सडकमा ट्राफिकको सेन्सर समेत विछ्याइएको छ । त्यो सेन्सरमा गाडीको चक्का पर्नासाथ बत्ती बल्छ । सोही अनुसार ट्राफिकले मोवाइलबाटै व्यवस्थापन गर्न सक्ने छन् ।