ज्येष्ठ नागरिकसम्बन्धी पत्रकारिता पुरस्कार गौतमलाई प्रदान गरिने

पोखरा, साउन २३ । काठमाडौँबाट प्रकाशन तथा प्रसारण हुने एजिङ नेपालका अध्यक्ष तथा प्रधान सम्पादक कृष्णमुरारी गौतमलाई नेपालमा पहिलो पटक स्थापित ज्येष्ठ नागरिकसम्बन्धी पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

‘ऋषि लीला स्मृति पत्रकारिता पुरस्कार’ प्रतिभा छनौट समितिका संयोजक तथा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकको अध्यक्षतामा बसेको बैठकले गौतमलाई सो पुरस्कार प्रदान गरिने निर्णय गरेको हो । प्रेस स्वतन्त्रता सेनानी तथा ज्येष्ठ नागरिक महासंघ प्रदेश नम्बर ४ का संयोजक कुसुमकेशव पराजुलीले आफ्ना पितामाताको सम्झनामा स्थापित सो पुरस्कार ज्येष्ठ नागरिकका क्षेत्रमा विगत पन्ध्र वर्षदेखि समाचार प्रकाशन तथा प्रसारण गर्ने व्यक्तित्व वा संघसंस्थालाई प्रदान गर्ने प्रावधान रहेको छनौट समितिका सदस्य सचिव केशवराज लम्सालले जानकारी दिए ।

ऋषि लीला पत्रकारिता पुरस्कारबाट सम्मानित हुने गौतम विगत साढे तीन दशकदेखि पत्रकारिता क्षेत्रका र ज्येष्ठ नागरिकको शिक्षा तथा नेतृत्व विकासमा क्रियाशील छन् । ‘ऋषि लीला स्मृति पत्रकारिता पुरस्कार’मा रु २० हजार नगद, सम्मानपत्रले सम्मान गरिनेभएको छ ।