देउवा भन्छन् विशेष महाधिवेशन बोलाए सामना गर्छु
काठमाडौं, चैत्र २१ । नेपाली कांग्रेसका ४३ जिल्ला सभापतिहरुले बारा र पर्सामा भएको धनजनको क्षतिपछि ७७ वटै जिल्लाबाट राहत संकलन गरेर सम्बन्धित जिल्लाका सभापतिमार्फत पु¥याउने निर्णय गरेका छन् ।
महासमिति बैठकले केन्द्रीय तहमा रहेका नेताहरु पनि आगामी महाधिवेशनमा तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने प्रावधान प्रतिनिधि बन्नुपर्ने र पार्टीले समानुपातिकतर्फ पठाउँदा एकपल्ट भन्दा बढी अवसर दिन नहुने प्रस्ताव पारित गरेको थियो । तर केन्द्रीय समितिको बैठकले त्यसलाई उल्ट्याउँदै केन्द्रीय समितिमा रहेका नेताहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था राखेपछि जिल्ला सभापतिहरु आक्रोशित हुँदै विभिन्न सभा, गोष्टिमा जुटेका छन् ।
सभापतिहरुको हिजोबाट काठमाडौंमा भएको बैठकबाट कांग्रेस नेतृत्वलाई महासमितिले पारित गरेको निर्णयअनुसार केन्द्रीय समितिले आफ्नो निर्णय सच्याउन अल्टिमेटम दिएका छन् । दुईदिनसम्म काठमाडौंमा बसेको जिल्ला सभापतिहरुको भेलाले यस्तो अल्टिमेटम दिएको हो । केन्द्रीय समितिको बैठक यसै साता (२३ गते ) शनिबार बस्दैछ । अगामी बैठकमा उनीहरुले उठाएका मुद्धामा केन्द्रित भएर नेतृत्व तहले छलफल गर्नु पर्ने उनीहरुको माग छ ।
४३ जिल्ला सभापतिहरुले भनेका छन्, यसो नगरिए हामी तल्लो तहमा पुगेर हस्ताक्षर अभियान चलाउनु पर्ने हुन्छ । कांग्रेसका जिल्ला सभापति मधु आचार्यले २३ गतेको बैठकबाट निर्णय पुनर्विचार नगरे ७७ वटै जिल्लामा महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर फेरि पुनर्विचारका लागि आग्रह गर्ने बताएका छन् । उनले भने, त्यो पनि भएन भने फेरि महासमिति सदस्यको हस्ताक्षर गरेर आग्रह गर्ने विचारमा छौँ ।
त्यसपछि पनि नभए विशेष महाधिवेशनका लागि हस्ताक्षर सुरु गर्ने उनको भनाई छ । त्यस्तै जिल्ला सभापतिहरुले १४ औं महाधिवेशन पनि समयमै गर्न आग्रह गर्दै कार्यतालिका सार्वजनिक गर्न माग नेतृत्वसँग गरेका छन् । साथै सरकारका पछिल्ला गतिविधिविरुद्ध राष्ट्रिय अभियान सुरु गर्न पनि माग गरेका छन् । संघीयताअनुसार कमिटी गठन गर्न र भ्रातृ संगठनका महाधिवेशन पनि समयमै गर्न आग्रह गरेका छन् ।
यसैबीच बिहीबार नै विराटनगर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले विशेष महाधिवेशन नबोलाउने तर बोलाइए त्यसको सामना गर्ने बताएका छन् । नेपाल टेलिकम वर्कस युनियनको केन्द्रीय महाधिवेशन उद्घाटन गर्न आज विराटनगर आएका देउवाले विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग भने, विशेष महाधिवेशन बोलाउने कारण नभएको तर बोलाइ हाले पनि आफुले सामना गर्ने क्षमता राख्ने जिकीर गरेका छन् ।
देउवाले पार्टीमा बनाइएको अनुशासन समितिलाई अब सक्रिय बनाइने पनि जानकारी गराएका छन् । कांग्रेस सभापतिले देउवाले काठमाडौंको बैठकको विषयमा सबै सभापतिहरुको धारणा नभएको र २०–२५ जनाले मात्र विरोध गरेको बताएका छन् । उनले आफुले केन्द्रीय समितिमा तलबाट निर्वाचन भएर आउने प्रस्ताव केन्द्रीय समितिमा नै पेश गरेको तर सबैले नमानेपछि आफुले केहि गर्न नसकेको बताएका छन् ।
देउवाले जथाभावी बोल्नेलाई कारवाही हुँदैन भन्ने विषयमा आफू गरिजाबाबुले जस्तो कारबाही गरि हाल्ने स्वभावको नभएको जिकीर गरेका छन् । न्याय परिषदको सिफारिसको विषयमा देउवाले यसमा राजनीतिक छत्रछायाँ देखिए त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिदै भने, परिषदमा राजनीतिको छायाँ आउन दिनु हुँदैन भन्ने हाम्रो पनि मत हो ।