काठमाडौँ, चैत २४ । ललितपुरको सबैभन्दा व्यस्त सडकखण्ड सातदोबाटोदेखि लगनखेलसम्मको विस्तारको काम तिव्र रुपले अघि बढ्न सकेको छैन । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडकमा २० प्रतिशतभन्दा काम हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जानकारी गारएको छ ।
सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण सडक निर्माणअघि बढ्न नसकेको जनाइएको छ । अदालतको अर्को आदेश नआउँदासम्म सबै काम ठप्प नै भइरहने आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले जानकारी गराएका छन् । ललितपुरका अन्य चार ठाउँका सडकजस्तै सो स्थानको सडक मुआब्जा विवादले गर्दा अघि बढ्न नसकेको उनको भनाई छ । उपत्यकामा विस्तारका क्रममा रहेका अन्यत्रका सडकमा जस्तै उक्त सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएको आयोजनाले बताएको छ ।
पटकपटक अनुरोध गर्दासमेत सम्बन्धित निकायले भएका संरचना हटाउन चासो नदिएको इञ्जिनीयर श्रेष्ठले जानकारी गराएका छन् । विद्युतको पोललगायतका संरचना हटाउन नसकिएको उनले बताएका छन् । त्यस्तै, स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन नमानेको उनले सुनाए । सडक सम्पन्न हुनुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम ठप्प भएको उनले प्रस्ट्याए ।
उक्त सडकको निर्माण विसं २०७३ जेठमा शुरु भएको थियो । पहिलोपटकको ठेक्का सम्झौताअनुसार विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको थियो । अहिले थपिएको अवधिमा काम अघि नबढेको उनले बताएका छन् । ललितपुर जिल्लाका मात्रै पाँच सडकमा विस्तारको काम मुआब्जाकै कारण ठप्प भएका छन् । उपत्यकाभित्र काठमाडौँमा पाँच र भक्तपुरको एक सडकमा विस्तारको काम शुरु भएको थियो ।