भरतपुर, चैत २४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् यूवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेस राजनीतिक मुद्दा छाडेर आफु भित्रै रुमलिनुको साटो समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने बताएका छन् ।
उनले चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा समयअनुसार कांग्रेस परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।
नेता पौडेलले निर्वाचनका बेला टिकट दिँदा ध्यान पु¥याउन नसक्दा निर्वाचनको गणितमा कांग्रेस पराजित भएको भए पनि विचारमा भने अगाडि रहेको औंल्याएका छन् । कांग्रेसले सरकारमा हुँदा राज्यको ढुकुटी रित्तो पारेको भनी अहिलेको सरकारले प्रचार गर्ने गरे भए पनि वास्तवमा कुरा भने त्यसको उल्टो भएको जनाएका छन् ।
उनले कम्युनिष्ट सरकारले कांग्रेसलाई विभिन्न आरोप लगाएर गलत देखाउन खोजे पनि सफल नहुने जिकिर गरेका छन् । सत्तारूढ नेताहरुकै संरक्षणमा देशमा भ्रष्टाचार बढेको उनले आरोप लगाएका छन् । नेपाली कांग्रेस खैरहनी नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ ले रक्तदान गरेका छन् ।
रक्तदानसँगै २०७६ को भित्तेपात्रो लोकार्पणसमेत गरिएको थियो । कार्यक्रममा जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति टेकप्रसाद गुरुङ, खैरहनी नगर समितिका सभापति शशिकुमार खनियाँलगायतले मन्तव्य व्यक्त राखेका थिए ।