सोमबारदेखि मौसममा सुधार आउने

काठमाडौँ, चैत २४ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हँुदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जानकारी गराएको छ । उक्त वायुको प्रभावले आज देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी गराएका छन् ।

सोमबार पश्चिमी क्षेत्रबाट क्रमिक सुधार हँुदै जाने उनको भनाइ छ । मध्य र पूर्वी क्षेत्रको मौसम भने एक÷दुई दिन प्रभावित नै हुने मौसमविद् पौडेलले बताएका छन् । काठमाडौँ उपत्यकामा भोलिबाट मौसम सुधारहँुदै जाने जनाइएको छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायु, पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय रेखा, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको समिश्रणको प्रभावले देशैभरको मौसम प्रभावित भएको महाशाखाले जानकारी गराएको छ ।

राति देशभरी नै आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू–भागका एक– दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि देशका पूर्वी भू–भागमा आंसिकदेखि पूर्ण बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहेको जानकारी गराइएको छ ।

मङ्गलबार देशको पूर्वी र मध्य भू–भागमा आंसिकदेखि सामान्य बदली रही पूर्वी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाको भनाई छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।