गोदावरीका जेष्ठ नागरिकलाई टोल–टोलमा नै परचिय–पत्र वितरण गर्दै नगरप्रमुख महर्जन

ललितपुर, चैत्र २५ । गोदावरी नगरपालिकाले नगरक्षेत्रभित्र बसोवास गर्ने जेष्ठ नागरिकलाई आइतबारजबाट टोल–टोलबाटै ‘जेष्ठ नागरिक परिचय–पत्र’ वितरण गरेको छ । नगरप्रमुख गजेन्द्र महर्जनले वडा नम्बर १० स्थित स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा आएका जेष्ठ नागरिकलाई परिचय–पत्र वितरण गरि सो कार्यको आरम्भ गरेका हुन् ।

जेष्ठ नागरिकले पाउने सेवा, सुविधाका लागि सहज होस भन्ने अभिप्रायले जेष्ठ नागरिक परिचय–पत्र वितरण शुरु गरिएको नगरप्रमुख गजेन्द्र महर्जनका बताएका छन् । नगरपालिका कार्यालयवाट परिचय–पत्र वितरण कार्य भए पनि जेष्ठ नागरिकलाई हिंडडुल गर्न र यातायात सुविधा असहज हुने भएकाले टोल–टोलवाटै सो परिचय–पत्र वितरण गरेको नगरप्रमुख महर्जनको भनाई छ ।

जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य तथा अन्य सेवा प्रदान गर्ने उद्देश्यले वडा–वडामा रहेका स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा नै जेष्ठ नागरिक परिचय–पत्र वितरण गरिएको उनले बताएका छन् । नगरपालिका क्षेत्रभित्र कुल पाँच हजार ३४५ जेष्ठ नागरिक रहेका छन् ।