नेपाली कांग्रेस कार्यसम्पादन समितिका लागि भागबन्डा मिल्ने संकेत

काठमाडौं चैत २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा शीर्ष नेताहरुको अनौपचारिक बैठक बोलाएर वरिष्ठ नेता पौडेललाई १२ जनाको नाम कार्यसम्पादन समितिका लागि उपलब्ध गराउन आग्रह गरेका छन् ।

सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेललाई १२ जनाको नाम उपलब्ध गराउन आग्रह गरेका हुन् । सभापति देउवाले वरिष्ठ नेता पौडेललाई महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसँगै आफूसहित १२ जनाको नाम सिफारिस गर्न आग्रह गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जानकारी गराएका छन् ।

यसअघि शुक्रबार बुढानिलकण्ठमै भएको अनौपचारिक बैठकमा सभापति देउवाले पौडेललाई कार्यसम्पादन समितिका लागि ११ जनाको नाम उपलब्ध गराउन भनेका थिए । छलफलका क्रममा देउवाले नेता सिटौलालाई ४० प्रतिशतभित्रै समेट्न वरिष्ठ नेता पौडेललाई आग्रह गरेका छन् भने पौडेलले १३ औं महाधिवेशनमा सहयोग गरेको तथ्य प्रस्तुत गर्दै ६० प्रतिशतभित्र समेट्न देउवालाई सुझाव दिएका थिए ।

आफ्नो विषयलाई लिएर सभापति र वरिष्ठ नेताबीच सवाल जवाफ भएपछि नेता कृष्ण सिटौला आजको बैठकमा उपस्थित नै भएनन् । उनले सोमबार सभापति देउवाले बोलाएको बैठक नै बहिष्कार गरेका छन् । केन्द्रीय कार्यसमिति पछिको शक्तिशाली मानिने केन्द्रीय कार्यसम्पादन समितिमा भएको भागबण्डाप्रति असन्तुष्टि जनाउँदै सिटौलाले शीर्ष नेताको बैठक बहिष्कार गरेका हुन् ।

सोमबारको बैठकमा सभापति देउवाले नेता सिटौलालाई जसरी पनि फकाएर सहकार्य गर्दै अगाडि बढ्ने बताएको देउवानिकट एक नेताले बताएका छन् । कांग्रेसको परिमार्जित विधानको परिच्छेद ६ को दफा २९ अर्न्तगत गठन हुने केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सह(महामन्त्री पदेन सदस्य हुन्छन् ।

यस्तै संसदीय दलको नेता कार्यसम्पादन समितिको सदस्य रहने विधानमा व्यवस्था गरिएको छ । विधान अनुसार केन्द्रीय कार्यसमितिले आफूमध्येबाट केन्द्रीय कार्यसम्पादन समितिका लागि बढीमा २२ जना सदस्य चयन गर्न सक्छ ।