एकता टुंग्याउने भन्दै अध्यक्षद्वयको गोप्य बैठक चन्द्रागिरीमा

काठमाडौं, चैत २९ । एकता प्रक्रियामा आएर अड्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतका लागि गोप्य भेला चन्द्रागिरीमा भइ रहेको छ । सो बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकता टुंग्याउने अन्तिम गृहकार्यको संज्ञा दिएका छन् ।

विगत लामो समयदेखि पार्टी एकताले पुर्णता नपाउँदा नेता कार्यकर्ता नै अन्योलमा परेको महसुस गरी अध्यक्षद्वय ओली र प्रचण्डले आगामी बैशाख ९ गतेभित्रै पार्टी एकताको अन्तिम टुंगो लगाउने गरी गृहकार्य अघि बढेको बताइएको छ । अव एकतामा ढिलाइ नगर्ने निश्कर्षका साथ प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डको भनाई छ ।

एकता प्रक्रिया टुङ्ग्याउन बिहीबार रातभर दुई अध्यक्ष ओली र प्रचण्डसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाले बृहत छलफल गरेको जनाइएको छ । अध्यक्षद्वयले यसअघि प्रदेश तहको एकता टुंगो लगाउन गठित दुई सदस्यीय कार्यदलका सदस्य रहेको कारण थापा र पौडेललाई पनि बैठकमा राखेको स्रोतले बताएको छ । थापा यसअघि एकता टुङ्ग्याउन गठित नौ सदस्यीय कार्यदलका संयोजक र महासचिव पौडेल सदस्यका रुपमा रहेका छन् ।

दुई अध्यक्षले केन्द्रीय सदस्यको कार्यबिभाजन, र एकता प्रक्रियाका बाँकी काम टुंग्याउने लगायतका विषयमा लामो छलफल गरेको बताइएको छ । सो छलफलमा जिल्ला नेतृत्व र भातृसंगठनको नेतृत्वको टुंगो लगाउने विषयमा समेत छलफल भएको जनाइएको छ । नयाँ वर्ष लागेसँगै एकताका बाँकी काम टुंगयाउने गरी अध्यक्ष ओली र प्रचण्डले अन्तिम गृहकार्य गरिरहेको बालुवाटार निकट स्रोतले जानकारी गराएको छ ।

एकताको बिषयमा टुंगो लगाउने छलफलका लागिथ प्रधानमन्त्री ओली बिहीबार साँझ पाँच बजेपछि चन्द्रागिरी पुगेका थिए । अध्यक्ष प्रचण्डसहितका अन्य नेताहरु त्यसअघि नै चन्द्रागिरी पुगेका हुन् । अध्यक्ष प्रचण्डले गृहजिल्ला चितवन पुगेर पार्टी स्थापना दिवस अप्रिल २२ अर्थात बैशाख ९ गतेभित्र एकताको टुंगो लगाइसक्ने घोषणा गरेको स्रोतको दावि छ । गत जेठ ३ गते पार्टी एकता गर्दा तीन महिनाभित्र सवै तहको साँगठानिक एकता टुंग्याउने घोषणा गरिए पनि नेताहरुको आन्तरिक द्वन्द्धले हालसम्म जिल्ला र जनसंगठनको एकता टुंगो लागेको छैन ।

कार्यदलमाथि कार्यदल बनाउँदै जाँदा भदौं ६ भित्र टुंगो लगाउनुपर्ने साँगठानिक एकता अझै हुन सकेको छैन । झण्डै एक बर्ष एकता हुन नसक्दा जनसंगठनहरु निस्कृय बन्न पुगेका छन् भने जिल्ला तहमा पनि खासै गतिबिधि हुन सकेको छैन । पछिल्लो समय प्रदेश कमिटीले आफ्नो गतिबिधि अघि बढाएर स्थानीय तहसम्म एकता गरिरहँदा पार्टी र सरकारको मुख्य आधार मानिने जनसंगठनहरु एकता हुन नसक्दाको मारमा परेका छन् ।

चन्द्रागिरी भएको गोप्य भेलामा माधब कुमार नेपाललाई भने कुनै जानकारी नगराइएको बताइएको छ । उनले पार्टी सभापति एवम् प्रधानमन्त्रीको कार्यशैलि प्रति वेलावखत खवरदारी गर्दै आएका छन् । उनलाई सो बैठकमा नबोलाउनुको कारण भने अध्यक्षद्धयले नखुलाएको बताइएको छ । नेता नेपालले पार्टी एकीकरण एवम् एकता प्रक्रियालाई बढाउँदा आफ्ना माग सम्बोधन हुनु पर्ने जिकिर गर्दै आएका छन् । उनको अडानले के कति काम गर्ने हो र चन्द्रागिरीमा भएको गोप्य बैठकले एकता प्रक्रियामा कति सार्थकता पाएर एकताको टुङ्गो लाग्ने हे भन्ने कुरामा अन्यौलता नै छ ।