काठमाडौँ, चैत २९ । सरकारले यही चैत १७ गतेदेखि खुला गरेको मलेसिया कामदार पठाउने निर्णय गरे सँगै सो देश जाने को घुँइचो लाग्न थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेसिया जाने कामदारका लागि खुला गरेपछि चार दिनमा ६४ जनाले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् ।
सरकारले यही चैत १७ गतेदेखि खुला गरेपछि कार्यालयले चैत २५ गतेदेखि श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी गराएका छन् । सरकारले खुला गरेपछि मलेसिया जाने नेपाली कामदारलाई केही राहत मिलेको उनको भनाई छ ।
सरकारले गत जेठदेखि मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उनले बताएका छन् । मलेसियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका सम्पूर्ण कामदारलाई नियमित रुपमा श्रम स्वीकृति दिइने जनाइएको छ ।