तीन चरणमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै कांग्रेस

काठमाडौं, बैशाख ३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने तयारीमा जुटेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार गरिएको पत्रकार सम्मेलनमार्फत २०७६ सालमा तीन चरणमा केन्द्रदेखि वडासम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने जानकारी गराइएको छ ।

सो सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले पहिलो चरणमा वैशाख ११ बाट एक महिना, दोस्रो चरणमा भदौ २४ बाट १५ दिन र तेस्रो चरणमा पुस १६ बाट १० दिन राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने तय गरेको बताएका छन् । अभियानको नाम ’हिमाल, पहाड, तराइ मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ राखिने प्रवक्ता शर्माको भनाई छ ।

सो अभियानमा महासमितिबाट पारित दस्ताबेजबारे कार्यकर्तालाइ सु सूचित गर्ने, एकता बढोत्तरी, जागरण अभिवृद्धि, नेपाली कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धीबारे सम्प्रेषण, संविधान संशोधनबारे जनमत सिर्जना लगायतका १४ उद्देश्यहरु रहने प्रवक्ता शर्माले जानकारी गराएका छन् ।

अभियान केन्द्रदेखि वडातहसम्म सञ्चालन हुने उनको भनाई छ । प्रवक्ता शर्माले सो अभियानका क्रममा हरेक जिल्लामा कार्यक्रम फरक तरिकाले राखिने बताएका छन् । उनले काठमाडौंमाको अभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले र अन्य जिल्लामा केन्द्रीय प्रतिनिधिले अभियानको उद्घाटन गर्ने प्रष्ट पारेका छन् । उक्त पत्रकार सम्मेलनमा बोल्दै उपसभापति विमलेन्द्र निधिले अभियानबाट कांग्रेसका पाँच लाख कृयाशिल सदस्य परिचालन हुने बताएका छन् ।

उनले सदस्य परिचालन गरेर गाउँ गाउँमा नेता कार्यकर्ता पुग्नु पार्टीका लागि निकै राम्रो अवसर भएको बताएका छन् । उनले भनेका छन्, पार्टीका लागि यस्ता कुराले निकै लाभ दिन्छ । सबै एकजुट भएर यो कार्यक्रम सफल बनाउनुको विकल्प नै छैन् । निधिले यसबाट जनता निराश नहुँने, जनतालाई फेरि आशा जाग्ने पक्का रहेको जानकारी गराएका छन् । जनतामा आशा जगाउनु राजनीतिक दलको कर्तव्य रहेको उनको धारणा छ ।

पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापती विमलेन्द्र निधि र विजयकुमार गच्छ्दार, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायतको उपस्थिति रहेको थियो ।