कामपाका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिदै

काठमाडौँ, वैशाख ४ । काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण गर्ने कार्यलाई तिव्रता दिएको छ ।

कामपाको वडा नं १५ बाट मेयर निःशुल्क स्वास्थ्य परीक्षण प्रारम्भ गरिएको यस कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई २० प्रतिशतसम्म औषधिमा समेत छुटको व्यवस्था गरी प्रारम्भ गरेको जानकारी गराइएको छ । कामपामा हाल ३२ वडा रहेको छ ।

कामपामा रहेका ज्येष्ठ नागरिकलाई जीवनको पछिल्लो समय हुने विभिन्न रोगको सिकारबाट समस्या नभई सहज होस् भन्ने हेतुका साथ यस कार्यक्रम सञ्चालन गरिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् । पहिलो चरणमा १५ वडामा रहेका करीब एक हजार ६०० सामाजिक सुरक्षाभत्ता लिने ज्येष्ठ नागरिकलाई यस सेवा प्रदान गर्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी गराएका छन् ।

अहिले परीक्षणको रूपमा उक्त वडामा शुरु गरिएको उनले बताएका छन् । बजेट, जनशक्ति र अन्य व्यवस्थापन सहज भएपछि अन्य वडामा पनि यो कार्यक्रम सञ्चालन गरिने भएको छ । यो कार्यक्रम हरेक दिन सामुदायिक स्वास्थ्य सेवा परिषद्मा सञ्चालन हुनेछ ।