वैशाखभर जिल्ला दौडाहामा वरिष्ठ नेता पौडेल

काठमाडौं, बैशाख ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल फेरि एक महिना लामो जिल्ला दौडाहामा निस्कने भएका छन् । पार्टीका जिल्ला कार्य समितिहरुले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउनका लागि पौडेल सुदूरपश्चिम प्रदेश, ५ नम्बर प्रदेश र २ नम्बर प्रदेशका विभिन्न जिल्लाको दौडाहामा निस्कन लागेको बताइएको छ ।

पौडेलको जिल्ला भ्रमणको कार्यक्रम वैशाख ५ गतेबाट सुरु भएर वैशाख २४ गते सकिने उनका निजी सचिव चिरिञ्जीवी अधिकारीले जानकारी गराएका छन् । अधिकारीका अनुसार नेता पौडेलको जिल्ला भ्रमण वैशाख ५ गते कास्कीबाट हुने छ । सो दिनको कार्यक्रम पोखरा प्रस्थान, हिरामणी सुवेदीको चौरासी पूजामा सहभागिता जनाउने बताइएको छ । वैशाख ७ गते रुपन्देहीको भैरहवा प्रस्थान गर्ने र क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने तय भएको जनाइएको छ । ८ गते रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

९ गते रुपन्देही क्षेत्र नम्बर ७ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गरी काठमाडौं फर्कने बताइएको छ । त्यस्तै १० गते सप्तरीका लागि प्रस्थान गर्ने जानकारी गराइएको छ भने ११ गते नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर २ ले आयोजना गरेको हनुमान नगर काङकालनी नगरपालिकाको भारदहमा आयोजित आमसभालाई सम्बोधन गर्ने जनाइएको छ । साथै १२ गते सिरहामा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ भने, १३ गते नेपाली कांग्रेस रामेछाप नगर समितिले आयोजना गर्ने एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागीता जनाउनका लागि सो स्थानमा पुग्ने छन् ।

सोहि कार्यक्रमकै सिलसिलामा १४ गते रौतहटको राजापुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने तय भएको जानकारी गराइएको छ । नेता पौडेल १५ गते काठमाडौं फिर्ता भई १६ गते कैलालीको धनगढी हुँदै दार्चुला प्रस्थान गर्ने बताइएको छ । १७ गते नेपाली कांग्रेस दार्चुलाको जिल्ला सम्मेलनलाई सम्बोधन गरी दार्चुलाबाट बैतडी तर्फ प्रस्थान गर्ने भएका छन् । त्यस्तै १८ गते बैतडीको मेलौलीमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गरी त्यस दिनको बास त्यहि बस्ने बताइएको छ ।

साथै १९ गते नेपाली कांग्रेस बझाङद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । २० गते नेपाली कांग्रेस डडेलधुराद्वारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ । २१ गते नेपाली कांग्रेस कञ्चनपुरद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ । २२ गते बिहान कैलालीको बेलौरीमा कार्यकर्ता भेटघाट, दिउँसो धनगढीमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गरी त्यस दिनको बसाई धनगढी हुने जानकारी गराइएको छ ।

नेता पौडेलको २३ गते कार्यक्रम कैलालीको टिकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन टिकापुर नै उक्त रात पनि बस्ने जनाइएको छ । अन्त्यमा २४ गते कैलालीको हसुलियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधनपछि काठमाडौं फर्कने कार्यक्रम तय भै सकेको जानकारी गराइएको छ ।