समाजमा सकारात्क प्रभावको आवश्यकता : मन्त्री पण्डित

विराटनगर, वैशाख ४ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनतालाई सपना बाँड्ने काममा भन्दा, योजना अनुसार काम गरे मात्र समाजमा सकारात्क प्रभाव पर्ने र जनप्रतिनिधि पनि सफल हुने बताएका छन् । उनले जनप्रतिनिधिले जनताको भावनाअनुसार काम गर्नु पर्नेमा जोड दिएका छन् ।

विराटनगर–६ बुद्धचौकस्थित मुस्लिम कम्युनिटी सेन्टरद्वारा निर्माण गर्न लागिएको मुसाफिर खाना (सामायिक भवन)को बुधबार शिलान्याश गर्दै मन्त्री पण्डितले पुरानो इतिहास बोकको विराटनगर शहरलाई जोगाउन सबै समुदायको सहयोग आवश्यक रहेको आंैल्याएका छन् । समाजमा सकारात्क प्रभावको आवश्यकता रहेको बताउँदै उनले सो शहरमा आवश्यक पर्ने सम्पूर्ण सुविधाको विकास गरी काठमाडाै‌पछि दोस्रो ठूलो शहर बनाउने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

मन्त्री पण्डितले सामाजिक सद्भावसहित राजनीतिक सद्भाव भएमा मुलुकमा विकासले गतिलिने तथा जनता सुखी र समृद्ध हुने जानकारी गराएका छन् । उनले सामाजिक एकताबाट मुलुकमा समृद्धि कायम हुने विश्वास व्यक्त गरेका छन् । समृद्ध नेपाल निर्माणका लागि सबै तह र तप्काबाट पहल हुनु पर्ने उननको भनाई छ । सरकारले प्रारम्भ गरेको समृद्धिको अभियान सफल बनाउनका लागि स्थानिय र प्रदेश सरकारको मुख्य हात हुने भएकाले एक रुपताका काम गर्नु पर्नेमा उनले जोड दिएका छन् ।

सोहि कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केन्द्रीय सदस्यद्वय विनोद ढकाल र महेश रेग्मीले सम्पूर्ण जातजातिको भाषा, धर्म, संस्कृति र वेषभूषाको संरक्षणवाट मात्र मुलुकमा समृद्धि आउने जानकारी गराएका छन् ।

कम्युनिटी सेन्टरका अध्यक्ष जावेद नवि इराकीको सभापतित्वमा सम्पन्न सो समारोहमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, उद्योग सङ्गठन मोरङका भीम घिमिरेलगायतले मुसाफिर खाना निर्माणबाट यस क्षेत्रका सम्पूर्ण समुदायलाई सहज भएको धारणा राखेका थिए ।

रु दुई करोडमा खरीद गरिएको चार कठ्ठा जग्गामा २८ हजार स्क्वायर फिटमा पार्किङसहित पाँच तल्ले सो भवन निर्माणका लागि रु १८ करोड खर्च लाग्ने इञ्जिनीयर पवन झाले जानकारी गराएका थिए ।

इस्लामिक संस्कृति झल्कने उक्त भवनमा नवाज पढ्ने (प्रार्थना हल), २५० जना अट्ने दुई सभाहल र ४५ कोठा रहने छ भने पार्किङमा ३० वटा चार पाङ्ग्रे सवारीसाधन र सय मोटरसाइकल राख्न सकिने छ ।