काठमाडौँ, वैशाख ६ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो स्थापनाको स्वर्ण जयन्ती विभिन्न कार्यक्रम गरि आज देशभर मनाउने तयारीमा जुटेको छ । विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो ।
त्यस समय यता नेविसंघले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । स्वर्ण जयन्तीको अवसरमा नेविसंघ काठमाडौँले पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उपत्यकास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
यसैगरी, नेविसंघ निवर्तमान केन्द्रीय समितिले ‘वर्तमान परिस्थिति र नेपाल विद्यार्थी सङ्घको भूमिका’ खुला बहस कार्यक्रम, नेविसंघ पद्यकन्या बहुमुखी क्याम्पसको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम, नेविसंघ धादिङ काठमाडौँ सम्पर्क समितिले दीप प्रज्वलन कार्यक्रम, नेपाल ल क्याम्पसको आयोजनामा चियापान तथा दीप प्रज्वलन कार्यक्रम राखिएको छ । नेविसंघका विभिन्न जिल्ला समितिले पनि आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउन लागेका छन् ।
नेविसंघका नेता लीलावल्लभ दाहाल ‘काका’ नेविसंघको केन्द्रीय समिति नभएको वर्तमान अवस्थामा विभिन्न जिल्ला र क्याम्पस समितिको आयोजनामा स्थापना दिवस मनाउन लागिएको जानकारी गराएका छन् ।
नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी नेविसंघको स्वर्ण जयन्ती केन्द्रीय समिति नभएको अवस्थामा दुःखदका साथ मनाउनुपरेको बताएका छन् । इतिहास बोकेको विद्यार्थी सङ्गठनको स्वर्णदिवस नेतृत्व नभएको अवस्थामा मनाउनु परेकाले सारै खल्लो भएको उनले बताएका छन् ।
विसं २०२७ मा स्थापना भएको नेविसंघको वर्तमान नेतृत्वले राजीनामा दिएसँगै नेविसंघ केन्द्रीय समिति अहिले नेतृत्वविहीन बन्न पुगेको छ ।