भदौमा शिलान्यास हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

चितवन, वैशाख ८ । चितवनको रामपुरमा निर्माण हुन गइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास कार्यक्रम आगामी भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको जनाइएको छ । शिलान्यास पूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका बताइएको छ ।

रङ्गशाला निर्माण गर्दै गरेको सीताराम कट्टृेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी घर लगायतका आवश्यक संरचना निर्माण भइसकेको जानकारी गराएका छन् । कट्टेलले गुरुयोजना तयार गरी नक्साङ्कनको काम तीव्र गतिमा अघि बढाइएको जानकारी गराएका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अघि बढाइएको जनाइएको छ । हालसम्म करीब रु ८० लाखको काम सम्पन्न भएको उनको भनाई छ । यसै सातादेखि खेलमैदानको भुइँको काम थालिने जनाइएको छ । अन्तर्राष्ट्रियस्तरको र पूर्वअभ्यासका लागि एउटा÷एउटा खेल मैदान निर्माण गरिने कट्टेलले बताएका छन् । क्रिकेट बाहेक अन्य खेलको विस्तृत अध्ययन प्रतिवेदन पनि अन्तिम चरणमा पुगेको छ भने क्रिकेटको प्रतिवेदन निर्माणको काम भइरहेको कट्टेलले जानकारी गराएका छन् ।

कट्टेलेलले आउँदो ३० वर्षपछि हुने प्रविधि अहिलेनै प्रयोग गरेर नक्साङ्कनको काम भइरहेको जनाएका छन् । उक्त स्थानमा नेपालीसँगै विदेशी विज्ञले पनि काम गरिरहेका हुनेले काम गुणस्तरीय हुने अनुमान गरिएको छ । जेठ महीनासम्ममा रु ५० करोड सङ्कलन गरी आवश्यक सामग्री जम्मा गर्ने तयारी भइरहेको जनाइएको छ । हालसम्म रु ६ करोड सङ्कलन भएको फाउण्डेसनले जानकारी गराएको छ ।

कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान शुरु हुने क्रममा रहेको बताउँदै कतिपय जिल्लामा सहयोग समिति बनेर रकम सङ्कलन हुन थालेको समेत प्रस्ट्याएको छ । सबै जिल्लामा समिति निर्माण गरी रङ्गशालाको अपनत्व लिने गरी आर्थिक सहयोग अभियानलाई तीव्रता दिइने कट्टेलको धारणा छ ।

अर्थ सङ्कलनका लागि यही वैशाख १३ गते फाउण्डेसनको टोली दुबई जाँदै छ भने त्यस लगत्तै जापान, अष्ट्रेलिया, युरोप र अमेरिका जाने कार्यक्रम रहेको जानकारी गराइएको छ । फाउण्डेसनको खातामा पहिले जम्मा भएको रु दुई करोड नौ लाख बाट कामको भुक्तानी भइरहेको उनले बताएका छन् । बहुउपयोगी रङ्गशाला निर्माणमा रु तीन अर्ब लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जानकारी गराएको छ ।

अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । त्रिभुवन विश्वविद्यालयको नाममा रामपुरमा रहेको २० बिघा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशालालाई खेलकूद एकेडेमीका रूपमा विकास गर्ने तयारी गरिएको छ । यसैबीच रङ्गशाला निर्माणका लागि हानामी एजुकेशनल इन्टरनेसनल प्रालिले रु एक लाख ११,१११ फाउण्डेसनका अध्यक्ष कट्टृेलेललाई हस्तान्तरण गरेको छ ।