ललितपुर, बैशाख ९ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन आइतबार अन्य दिन भन्दा धेरै व्यस्त थिए । महानगरको योजना, सुन्दरता लगायतका विषयमा आयोजना गरिएको धेरैवटा बैठक भ्याउनुपर्ने थियो । त्यहाँ आफ्ना विचार राख्नु थियो । तर, पनि उनले सुनाकोठीको एउटा कार्यक्रममा सहभागी हुने निर्णय गरे । त्यो कार्यक्रम थियो महानगरपालिकाका विभिन्न ११ वडा वडामा संचालित घटना दर्ता र एकल महिला सुरक्षा कोषको समापन कार्यक्रम ।
आफू सानो छँदा नै बाबुको निधन भएकाले आमाको एक्लो जीवनलाई नजिकबाट महसुस गरेको बताउँदै मेयर महर्जनले भने, ‘ आमा ३८ वर्ष हुँदा बुबाले छोडेर जानुभयो, आफू ८४ वर्ष सम्म बाँच्दा आमाले धेरै दुख गरेको सम्झन्छु ।’ आमाले ४६ वर्ष एक्लो जीवन बिताएको बताए । एकल महिलाको समस्यालाई आफूले नजिकबाट नियालेको बताउँदै एकल महिलाको समस्याप्रति महानगर संवेदनशील भएको स्पष्ट पारे । उनले भने, ‘ तपाईहरु कार्यक्रम ल्याउनु , सक्दो सहयोग गर्छु । ’ जीविकोपार्जन गर्न सकिने खालका कार्यक्रम आवश्यक भएको बताउँदै मेयर महर्जनले आर्थिक उपार्जन गर्न सक्ने काममा लगानी गर्नुपर्ने धारणा राखे ।
मानवअधिकारको लागि एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापाले महिलाको कार्यक्रममा मेयर उपस्थित भएकोमा प्रसंशा गरिन् । महिलाको कार्यक्रमलाई प्राथमिकतामा नपर्ने संस्कारलाई मेयर महर्जनले तोडेको उनले बताइन् ।
उनले एकल महिला सुरक्षा कोषमा धेरैै रकम थन्किएको रहेको जानकारी दिदैं सुझबुझपूर्ण ढंगबाट त्यसलाई महिलाको क्षमता विकासका लागि ल्याउनुपर्ने बताइन् । उनले भनिन् ,‘ हातमा पैसा छैन भनेर बस्नु पर्दैन , काम गर्ने चाहना राख्ने हो भने पैसा पाइन्छ , तर अब अलि बाँठो हुनुप¥यो । ’
मानवअधिकारका लागि एकल महिला समूह सुनाकोठी २७की अध्यक्ष सविता महर्जनले महिलामा पनि एकल र विपन्न महिलाको अवस्था पृथक भएको बताइन् । उनले एकल महिलाको आवश्यकता पहिचान गर्नुपर्ने धारणा राखिन् । घटना दर्ता र एकल महिला सुरक्षाकोष सम्बन्धि कार्यक्रम ललितपुर महानगरको वडा न ८, २१ , २२ , १७, २०, २३ , १४ २६, २७ र २८मा आयोजना गरिएको थियो ।