झापा, वैशाख ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस कमजोर प्रतिपक्ष नभएको जिकिर गरेका छन् । सभापति देउवाले संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको बताएका छन् ।
झापाको चन्द्रगढी विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा सभापति देउवाले कांग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै कांग्रेसको बदनाम गर्न खोजेको आरोप लगाएका छन् । कांग्रेसको प्रतिपक्षी भूमिका कमजोरमा कमजोर छैन नभएको उनले दावि गरेका छन् । कांग्रेस गुटले आक्रान्त भएको उल्लेख गर्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको सभापति देउवाले बताएका छन् ।
उनले ससंगठनका जिम्मेवार व्यक्तिहरुले सरकारका गलत कामको टिप्पणी गर्नु पर्ने र संगठनलाई कसरी मज्बुद बनाउने भन्नेमा केन्द्रित हुनु पर्ने औंल्याएका छन् । पार्टी प्रजातान्त्रिक पार्टीमा फरक विचार पनि आउने उल्लेख गर्दै उनले भने, यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो सरासर झुट मात्र हो ।
सभापति देउवाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन् । जिल्लाको दमकमा आज हुने कांग्रेस क्षेत्रीय समितिको भवन उद्घाटन तथा सम्मान कार्यक्रममा सहभागी हुन पार्टी सभापतिसहितका शीर्ष नेता झापा पुगेका हुन् ।