ललितपुर, बैशाख १० । हरियो शहर ललितपुर महानगरपालिका को रहर भनेझैँ ललितपुर महानगरपालिका बृक्षारोपण कार्यलाई तिव्रता दिएको छ । हरियाली बचाउने र बढाउने ललितपुरको महानगरपालिकाको योजना अनुरुप पुल्चोक र कुपण्डोलस्थित बागमती किनारामा बृक्षारोपण गरिएको छ। विश्व पृथ्वी दिवसको अवसर पारेर सोमबार ललितपुरमा बृक्षारोपण गरिएको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्यालले सोमबार विहान पुल्चोकमा कपुरको वोट रोपेर बृक्षारोण अभियानको सुरुवात गरेका छन् । त्यसलगातै कुपण्डोल स्थित वागमती किनारामा पुगेर १०० वटा कपुरको विरुवा रोपी बृक्षारोपण अभियानलाई निरन्तरता दिएका हुन् । बृक्षारोपणको लागि आवश्यक कपुरको वोट एभरेष्ट बैकले उपलब्ध गराएको हो । बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरुवा उपलब्ध गराएको एभरेष्ट बैंकका मार्केटिङ मेनेजर पुष्पराज उप्रेतीले जानकारी गराएका छन् ।
ललितपुर महानगरपालिकाले सडक पेटी हरियाली कार्यक्रमलाई वढवा दिन विभिन्न संघसंस्थाहरुसंग सहकार्य र समन्वय गर्दै आइरहेको छ । सडक पेटीमा रोपिएका विरुवाहरुको संरक्षणका लागि प्रगतिशील धारा सुधार समिति वातावरण संस्था महाराजगञ्जले व्यवस्थापन गर्नेछ । यो कार्यक्रम अन्तर्गत पहिलो चरणमा कुपण्डोलदेखि पाटन अस्पतालसम्म सडकको दुवैतर्फको पेटीमा बृक्षारोपण गरिने प्रगतिशील धारा सुधार समिति वातावरण संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताएका छन् ।
ललितपुर महानगरपालिकाभित्रका सबै सडक पेटीका दायाँबायाँ बृक्षारोपण गर्ने योजना रहेको प्रगतिशील धारा सुधार समिति वातावरण संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।