काठमाडौँ, वैशाख ११ । लामो समयको पर्खाइ पश्चात नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकता प्रक्रिया टुगों लाग्ने संकेत देखिएको छ । एकता प्रक्रियालाईए अघि बढाउ्रँदै गर्दा बनाइएको जिल्ला संरचनाको नेतृत्वमा समावेशीता नदेखिए पनि नेता, कार्यकर्तालाई केहि हद सम्म झिनो आश पलाएको हुन सक्छ ।
हालै सम्पन्न पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन सकेसम्म छिटै हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्णता पाउने समेत जानकारी गराएका छन् । उनले यसै वर्ष नै पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने प्रस्ट्याएका छन् ।
पूर्वप्रधानमन्त्री दाहालले सरकार गठन भएको पहिलो एक वर्षमा कानून निर्माण, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध र भौतिक पूर्वाधार निर्माणको शुरुआतको हिसाबले महत्वपूर्ण भएको र सकारात्मक कामको शुरुआत भएको औंल्याएका छन् । उनले भने, हामीले निर्वाचनको समयमा गरेको सङ्कल्पअनुसार नै विकासको काम शुरु भएको छ र त्यसरी नै अघि बढ्नेछ । अध्यक्ष प्रचण्डले पछिल्ला वर्षमा सामुदायिक विद्यालयमा सुधारको सङ्केत देखिन थालेको समेत बताएका छन् ।
उनले पहिले निजी विद्यालयमा भन्दा सामुदायिकमा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अनुशासनमा कमजोर भए पनि अहिले ती पक्षमा सुधार भएर निजीसँग प्रतिस्पर्धा गर्न सक्ने भएको जानकारी गराएका छन् । उनले लामो समयदेखि नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने खालको भए पनि अहिले रोजगारी सिर्जना गर्ने शिक्षालाई सरकारले प्राथमिकता दिएको प्रष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले सामुदायिक विद्यालयहरुको यसै गरी सुधार हुँदै जाने हो भने केही वर्षभित्र नै सबै नेपालीका छोराछोरी सामुदायिक विद्यालयमा आर्कषित हुने संकेत गरेका छन् ।
सो अवसरमा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा उल्लेखनीय सुधार भइरहेको जानकारी गराएका छन् । उनले निजीबाट सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी संख्या बढिरहेको बताएका छन् । नगरभित्रका विद्यालयमा प्राविधिक शिक्षा विस्तार भइरहेको उनको भनाई छ ।
चालू आर्थिक वर्षमा तीन विद्यालयमा प्राविधिक शिक्षा शुरु गरिएको र आगामी वर्षमा दुई विद्यालयमा थप्ने योजना रहेको उनले सुनाए । विद्यालयका प्रधानाध्यापक मीनबहादुर अछामीले विद्यालयमा भौतिक सुधार हुँदा शैक्षिक सुधारमा समेत सघाउ पुग्ने बताएका छन् । शहरी वातावरण व्यवस्थापन समाज नामक संस्थाले विद्यालयमा आठकोठे भवनको निर्माण गरेको गरी हस्तान्तरण गरेको थियो ।