नेपाली कलाकारीता क्षेत्रको सबै भन्दा चर्चित हाँस्य कलाकारहरुको ठूलो पर्दा प्रतिको मोह दिन प्रति दिन बढ्दो छ । हाँस्य कलाकारहरुले बनाएका चलचित्रले एक पछि अर्को गर्दै सफलता बटुल्न थाले पछि उनीहरुले आफ्नै प्रडक्सनमा चलचित्र बनाउन थालेका हुन् ।
हास्य कलाकारको बाहुल्यता रहेको नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’ युनिट देश दौडाहा सकेर काठमाडौंमा फर्किएका छन् । चलचित्रको प्रचारका लागि ‘दाल भात तरकारी’ युनिट देशका मुख्य सहरमा पुगेका थिए । चलचित्रका मुख्य कलाकारसहित चलचित्र युनिटले चलचित्रका गीत तथा केही डाइलग कार्यक्रममा प्रस्तुत गरेका थिए । बीजी सिनेमा हल बालाजुमा कन्टसर्ट समेत सम्पन्न भएको छ ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मुख्य आकर्षणको रुपमा रहेर सो कार्यक्रम सम्पनन भएको हो । अमेरिका जाने आम प्रवृत्तिप्रति लक्षित गरेर चलचित्र ‘दाल भात तरकारी’का निर्माण गरिएको छ । महसञ्चारको ब्यानरमा बनेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका छन् ।
निर्माता किरण केसी हुन् । सुदन किरणका छोरा हुन् । हरिवंश आचार्यले कथा लेखेका छन् । यस अघि उक्त व्यानरबाट ‘शत्रुगते’ रिलिज भएको थियो । ब्यानर एउटै भए पनि ‘शत्रुगते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका थिए ।
चलचित्र ‘दाल भात तरकारी’मा महजोडीसँगै आँचल शर्मा, पुष्प खड्का, विल्सनविक्रम राई, वर्षा राउत, निरुता सिंह, राजाराम पौडेल लगायत कलाकारको अभिनय रहेको छ । चलचित्र ‘दाल भात तरकारी’ वैशाख २० गते रिलिज हुँदैछ ।