काठमाडौं, बैशाख १२ । काठमाडौं महानगरपालिकाको चरम लार्पवाहीका कारण खुलामञ्च जस्तो क्षेत्र पनि अतिक्रमण चपेटामा परेको छ । सो क्षेत्र अतिक्रमण गरी सटर राखेरै पसल सञ्चालन गर्दा पनि यसबारे महानगरले कुनै कारबाही गर्न नसकेको भन्दै स्थानीयले आक्रोशित भएका छन् ।
महानगरपालिकाले जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सलाई काठमाडौं भ्यूटावर निर्माण गर्न सहमति दिएदेखि नै खुलामञ्च अतिक्रमणको क्रम सुरु गरेको वसन्तपुरका स्थानीय तथा सम्पदा बचाउ अभियन्ता गणपतिलाल श्रेष्ठले जानकारी गराएका छन् । महानगरपालिकाको सम्झौता कुल्चिएर जलेश्वरले खुलामञ्चमा भाडा लिएर अरु व्यवसायीलाई सटर सञ्चालन गर्न दिएको उनको भनाई छ ।
साविकको पुरानो बसपार्कमा ०७३ सालदेखि भ्यु टावर निर्माण सुरु भएकाले ०७३ साउन ३ गते भएको सम्झौताअनुसार महानगरले जलेश्वरलाई खुलामञ्चमा निश्चित संरचनाहरु तोकेर बसपार्क सञ्चालन गर्ने व्यवस्था गरेको हो । ०७३ सालदेखि ३ वर्षमा भ्यु टावरको बेसमेन्ट सकिने भएकाले ०७६ साउनसम्म पुरानो बसपार्कलाई खुलामञ्चमा सारिएको महानगरपालिकाका पब्लिक प्राइभेट पाटर्नरसिप शाखा प्रमुख ध्रुब काफ्लेले बताएका छन् ।
उक्त सम्झौताअनुसार जलेश्वरले खुलामञ्चमा ट्राफिक प्रहरीको एउटा बिट, एउटा टिकट काउन्टर, चमेनागृह, औषधी पसल र दुईवटा शौचालय, प्रतीक्षालय, गरी जम्मा ८ वटा संरचना सञ्चालन गर्न अनुमति दिएको उनको भनाई छ ।
सोही सहमति कुल्चिएर हाल जलेश्वर स्वच्छन्द विकोई बिल्डर्सले भाडा लिएर खुलामञ्चमा ५१ वटा पसल सञ्चालन भइ रहेका छन् । सार्वजनकि जग्गा त्यो पनि खुलामञ्च जस्तो ठाउँ अतिक्रमण हुँदा सम्म चुप बस्ने महानगर बेकम्वा भन्दै आज सो क्षेत्रमा आन्दोलन गरिएको थियो ।