नेपालको विकासमा चीनकाे महत्वपूर्ण योगदान : राष्ट्रपति भण्डारी

बेइजिङ, वैशाख १५ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गरेका छन् ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकामा धन्यवाद दिँदै दुई मुलुक असल छिमेकी भएको र नेपालको विकासमा चीनले महत्वपूर्ण योगदान पु¥याएको जानकारी गराएकी छिन् । उनले नेपालको परिस्थिति अनुकूल भएको, आर्थिक विकास गर्नैपर्ने आवश्यकता बढेको र लगानीका लागि उचित वातावरण भएकाले लगानी गर्न आग्रह गरेकी छिन् ।

चिनियाँ पक्षबाट मञ्चमा व्यापार, दुई मुलुकबीच सहयोग र लगानीका विषयमा छलफल हुने बताइएको छ । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, नेपाल सरकारका उच्चअधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी रहेको थियो ।