प्रचण्ड र देउवालाई भेट गरी महासंघले गरायो ध्यानाकर्षण

काठमाडौँ, वैशाख १५ नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षलाई भेटि ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघका पदाधिकारीले आज बिहान (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

महासंघले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने, मुलुकी देवानी तथा फौजदारी संहिताका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउनुपर्ने र नेपाली सञ्चार माध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता र सुविधा दिनुपर्ने लगाएतका विषयमा केन्द्रित रहेर ध्यानाकर्षाण पत्र बुझाएको छ ।

सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानसभा, गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशी, शान्ति र सुशासनलागयतका मुद्दामा पत्रकार महासंघ र आम प्रेस जगतले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । प्रचण्डले पत्रकारले सहयोग नगरेको भए आफ्नो राजनीतिक भविष्य यति उज्वल र उच्च नहुने बताएका छन् ।

नेपाल पत्रकार महासंघको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष प्रचण्डले भावुक हुँदै भने, ‘पत्रकारले सहयोग नगरेको भए म यो राजनीतिक स्थितिमा यहाँसम्म आउने थिइन ।’ आफूलाई यहाँसम्म ल्याउन पत्रकारको भूमिका अहम् रहेको स्वीकारेका प्रचण्डले पत्रकार हकहितका लागि आफूले सक्दो सहयोग गर्ने वचन पनि दिएका छन् ।

अध्यक्ष प्रचण्डले प्रेससम्बन्धी संविधानमा उल्लेख भएका विषय पत्रकार र प्रेस अनुकूल नै भएको बताउँदै महासंघले उठाएका सवाललाई पार्टीभित्र छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आन्दोलनमा होमिनुपूर्व नै पत्रकार महासंघ सशक्त भएर हकहितका लागि सडकमा ओर्लिएको सम्झना गर्दै लोकतन्त्रमा पत्रकारिताको मर्म मर्न नदिने प्रतिवद्धता पनि जनाएका छन् ।

आज विहान नै देउवा निवासमा भएको पत्रकार महासंघ र कांग्रेस सभापति देउवा विच भएको भेटमा उनले प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेस विगत लामो समयदेखि लड्दै आएको स्मरण गर्दै आगामी दिनमा समेत महासंघसँगै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

देउवाले आफ्नो पार्टी सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने बताएका छन् । नेपाल पत्रकार महासंघको आइतबार बिहान १६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै देउवाले भने, ‘काँग्रेस सधै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा लड्दै आएको छ । लडिरहन्छ ।’ सभापति देउवाले लोकतन्त्र र प्रेस स्वतन्ताको विरुद्धमा कांग्रेस जान नसक्ने पनि स्पष्ट पारेका छन् ।

उनले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकार प्रेसप्रति अनुत्तरदायी भएको आरोप समेत लगाउँदै प्रेसमाथिको ज्यादतीप्रति भर्सना समेत गरेका छन् । सभापति देउवाले प्रेस स्वतन्त्रताबारे पार्टीभत्र पनि छलफल चलाउने आश्वासन दिएका छन् ।

देउवा निवासमा पत्रकारको टोलि पुग्दा देउवा निवास बुढानीलकण्ठमा ज्ञापनपत्र बुझाउने बेलामा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि संगसंगै थिए । उनले आफ्नो पार्टी हर समय पत्रकार सँगै नै रहेको बताएका थिए । प्रवक्ता शर्माले पार्टीको जनजागरण अभियानमा पत्रकारका समस्यालाई पनि अघि सारिएको जानकारी गराएका थिए ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको टोलीले प्रचण्ड र देउवालाई ध्यानाकर्षण पत्र बुझाएको हो । आचार्यले पत्रकारितासंग जोडिएका पछिल्ला घटना परिघटनाबारे दुवै नेतालाई जानकारी गराएका थिए । महासंघका महासचिव रमेश विष्टले ध्यानकर्षण पत्र पढेर सुनाएका थिए ।

महासंघले पत्रकारिता सम्बन्धी जोडिएर बन्दै गरेका कानुनसंगै पछिल्लो समय पत्रकारमाथि भएका ज्यादती, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा आएका अभिव्यक्ति लगायतमा गम्भीर हुँदै आइतबारदेखि विभिन्न पार्टीका अध्यक्षहरुलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउन थालेको हो ।

पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथिको ज्यादति नसहने भन्दै सरकारले आफूहरुका माग पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।