भदौ ६ देखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

पोखरा, साउन २५ । नवआदर्श सामुदायिक विकास समाजले पोखरा–लेखनाथ महानगरपालिका वडा नं १९ लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

हरितालिका तीजको अवसरमा आगामी भदौ ६ देखि ८ गतेसम्म हुने उक्त भलिबल प्रतियोगितामा ६ टिमको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक सुशीलकुमार श्रेष्ठले बताए । प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी, सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाका विभागीय टिम, जावलाखेल भलिबल प्रशिक्षण र पश्चिमाञ्चल क्षेत्रीय भलिबल टिमको सहभागिता रहने छ ।

उक्त प्रतियोगिताबाट प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने टिमलाई क्रमशः रु ७५ हजार १०१, रु ५० हजार १०१, रु २० हजार र रु १५ हजार ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने । त्यस्तै सोही अवसरमा संस्थाद्वारा भदौ ४ देखि ६ गतेसम्म अन्तर माध्यमिक विद्यालय भलिबल, लोकनृत्य, महिला तीज गीत, विद्यालयस्तरीय जोडी नृत्य र महिला सामूहिक नृत्य प्रतियोगिता पनि गरिने छ ।