गोदावरी नगरवासी महिलाले ठेचोमा नै पाउने भए बर्थिङ सुविधा

ललितपुर, बैशाख १८ । गोदावरी नगरपालिकावासी महिलाहरुले केहि समय भित्रमा नै ठेचोमा बर्थिङ सेवा सुविधा पाउने भएका छन् । प्रसब पिडा बोक्दै अन्यत्रका अस्पताल धाउने दिनको सो क्षेत्रका महिलाको समस्या अब अन्त्य हुने भएको ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोमा बर्थिङ सेन्टरको आज भवन शिलान्यास गरेका छन् । भवनको शिलान्यास गर्ने क्रममा उनले सो बर्थिङ सेन्टरवाट ठेचो, धापाखेल, सुनाकोठी, चापागाउँ, झरुवारासीलगायत विभिन्न ठाउँबाट आउने महिलाले सेवा पाउने जानकारी गराएका छन् ।

सेन्टर स्थापनाले टाढा–टाढा गएर बर्थिङ गराउनु पर्ने समस्याको अन्त्य भएको प्रमुख महर्जनको भनाई छ । उक्त भवन सुविधा सम्पन्न रुपमा निर्माण हुने समेत जनाइएको छ । आज एक भव्य समारोहका बीच शिलान्यास भएको सेन्टरको निर्माण जतिसक्दो छिटो कार्य सम्पन्न गराएर सेवा उपलब्ध गराउनु मुख्य उद्देश्य रहेको नगरप्रमुख महर्जनले स्पष्ट पारेका छन् ।

बर्थिङ सेन्टरको लागि निर्माण गरिएको भवनवाट एक्सरे सेवाको सुविधा समेत दिइने भएको छ । तीन तल्लासम्म निर्माण हुने भवनका लागि रु. एक करोड लागत लाग्ने जानकारी गराइएको छ ।