पर्यटकलाई विद्युतीय बसको सुविधा दिँदै ललितपुर महानगर

ललितपुर, बैशाख १८ । ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजनालाई महानगरले अधि बढाएको छ । कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जानकारी गराएको छ ।

यस वर्षको बजेटमा महानगरले रु पाँच करोडको बजेटले विद्युतीय बस खरिद गरी सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताइएको छ । सो कामका लागि महानगरले रु पाँच करोड बजेट यस अघि नै छुट्टाएको थियो । महानगरका प्रवक्ता राजु महर्जनले भित्री भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने र ट्याक्सीले पनि बढी भाडा लिने गरेको पाइएकाले पर्यटकलाई सुविधा दिने उद्देश्यका साथ बस सञ्चालन गर्न लागिएको बताएका छन् ।

उनका अनुसार पर्यटकले एकातिर छोटो दूरीमा ट्याक्सी जानै नमान्ने र गएकाले पनि बढी भाडा लिन खोज्ने गुनासो गर्दै आएका छन् । बस सञ्चालनले विशेष गरेर असाहय, वृद्ध र अपाङ्गता भएका पर्यटकलाई सुविधा हुने योजना अन्तर्गत यो योजना अघि बढाइएको उनले सुनाए । उनले भने, बसमा चढेर खासखास घुम्नुपर्ने सबै स्थानमा पर्यटकलाई पु¥याउने हाम्रो लक्ष्य हो ।

पुल्चोकबाट मङ्गलबजार र पाटनढोकाबाट मङ्गलबजारसम्म बस सञ्चालन गर्ने योजना रहेको प्रवक्ता महर्जनले जानकारी गराएका छन् । उनले पाटनभित्र रहेका दरबार क्षेत्रसँगै अरु मन्दिर, विहारलगायतका पर्यटकीय गन्तव्यलाई समेटेर रुट बनाइने बताएका छन् ।

अध्ययन प्रतिवेदनका आधारमा छिट्टै सञ्चालन गर्ने योजना रहेको उनको धारणा छ । महानगरले साझाको रु एक करोडको शेयर खरीद गरेर विभिन्न रुटमा बस सञ्चालन गरि रहेको छ ।