काठमाडौँ, वैशाख २२ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममा नेपाली काङ्ग्रेसका २३ जना सांसदका तर्फबाट सांसद मीनेन्द्रप्रसाद रिजालले नेपालको संविधानको भावना विपरीत लेखिएको ‘मेरो सरकार’ लाई ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्नेमा जोड दिए ।
उनले नेपालको संविधानको प्रस्तावनामा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने स्पष्ट रुपमा लेखिएको स्पष्ट पारे । “यो ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गर्न गरेको संविधानका धाराहरु विपरीत भएकाले ‘मेरो सरकार’का ठाउँँमा ‘नेपाल सरकार’ भन्न संशोधन पेश गर्नुपरेको छ ।”
प्रस्तुत नीति तथा कार्यक्रममा विद्यमान परिस्थितिमा आवश्यक नीतिगत प्रस्टतासहित सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न नसक्ने भन्दै सांसद रिजालले समग्रतामा नै नीति तथा कार्यक्रम संशोधन गर्नु अपरिहार्य हुने तर्क समेत गरे ।
राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, चन्द्रकान्त चौधरीले नीति तथा कार्यक्रमको बुँदा नं ७ ८, २०, ७९ र ३८ मा सशंोधन हुनुपर्ने माग गरेका छन् ।