नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विभिन्न कारणले जेल बसेका सबै कैदी बन्दीहरु अपराधी नै हुन भनेर भन्न नमिल्ने बताएका छन् । आज काठमाडौस्थित सुन्धारामा रहेको केन्द्रिय कारागारमा रहेका अपांग कैदीहरुलाई ह्विलचियर बितरण गर्ने कार्यक्रममा बोल्दै डा कोइरालाले कति मानिसले भुलवस कानुन तोडेका समेत हुन सक्ने जानकारी गराएका छन् ।
कानुनको नजरमा उनीहरु दोषी ठहरिन्छन् तर वास्तविकता फरक पनि हुन सक्ने उनको भनाइ छ । साथै उनले जेल बस्ने सबैलाई अपराधीको सुचीमा राख्न नमिल्ने स्पष्ट पारेका छन् । कोइरालाले कारागारलाई सजायको थलोको रुपमा भन्दा सुधारगृहको रुपमा हेरिनुपर्नेमा जोड दिएका छन् ।
नेता कोइरालाले लामो समय जेल बसेका व्यक्तिहरु पटक-पटक सत्तामा पुगे पनि उनीहरुले जेल सुधारमा कहिल्यै ध्यान नदिएकोमा दुख लागेको बताएका छन् । उनले आधुनिक बिश्वमा खुल्ला कारागारको ब्यवस्था रहेको उदाहरण भने, प्रहरी र जेल प्रशासनको रहोबरमा कम्युनिटीमै बसेर सजाय भुक्तान गर्न पाउॅने ब्यवस्था गरिनुपर्नेतर्फ राज्यले सोच्ने समय आएको छ ।
कार्यक्रममा ह्विलचियर बितरण संस्थाका अध्यक्ष राकेश हमालले कैदीहरुले न्युनतम् सेवासुविधा पाउॅनुपर्नेमा जोड दिएका छन् ।