समृद्ध गोदावरी निर्माणका लागि सहकार्य आवश्यक – उपप्रमुख अधिकारी

ललितपुर, बैशाख २३ । गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारीले समृद्ध गोदावरी निर्माणमा सहकार्य गर्न गैरसरकारी संस्थालाई आग्रह गरेकी छिन् ।

नगरपालिकाको आयोजनामा नगरक्षेत्रभित्र आवद्ध भई कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थाहरुको कार्ययोजना प्रस्तुतीकरण कार्यक्रममा बोल्दै अधिकारीले दिगो विकासका कार्यक्रमहरुमा गैर सरकारी संस्थाले सहयोग गरिनुपर्ने औंल्याएकी छिन् ।

संस्थाले नगरक्षेत्रभित्र गरिने हरेक कार्यक्रम समृद्ध नगर विकासका सहयोगी हुनु आवश्यक रहेको उपप्रमुख अधिकारीको भनाई रहेको थियो । नगरपालिकाले चाहेको दिगो विकासका कार्यक्रमहरुमा गैर सरकारी संस्थालाई सँगसँगै लैजान सके नतिजामा पुग्न सहज हुनेमा उनले विश्वास व्यक्त गरिन् ।

सो कार्यक्रममा ६० वटा संस्थाको सहभागी रहेको थियो । सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले नगरपालिकाबाट प्रदान गर्ने रोजगारमुलक कार्यक्रममा संस्थालाई सहभागी गराएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।