काठमाडौं, बैशाख २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिएका छन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम माध्यामिक शिक्षामा एउटा जेहेन्दार विद्यार्थीले देशमा विकास निर्माणका लागि के कस्ता काम गर्नुपर्छ भनेर लेखेजस्तै भएको आलोचना गरेका छन् ।
सिंहले सरकारको नीति तथा कार्यक्रमलाई हाइस्कुलका विद्यार्थीले लेखेको निवन्ध जस्तो भएको टिप्पणी गरेका छन् । संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘देश बनाउनलाई के–के गर्नुपर्छ भनेर हाइस्कुलका विद्यार्थीलाई एस्से लेख्न लगाएको जस्तो छ ।’ उनले प्रधानमन्त्री आफैं सबै विषयमा जानकारक रहेको बताएका छन् । प्रधानमन्त्री सबै विषयमा जानकारी राख्ने भएकोले नै नारै नारालाई संसदमा पेश गर्ने हिम्मत आएको उनको भनाई छ ।
नेता सिंहले प्रधानमन्त्री उखान टुक्कामा नै दक्ष भएका कारण त्यसलाई नयाँ कुरा मान्न नहुने समेत स्पष्ट पारेका छन् । उनले ४६ पेजको नीति तथा कार्यक्रममा पानैपिच्छे नारा राखिएको र प्रभावित पार्ने तरिकाले लेखेको बताएका छन् । दोहोरो अंकको आर्थिक वृद्धिका लागि बजेटको अभाव हुने उनले बताए । ‘दोब्बर आर्थिक बृद्धि, चार बर्षमा उच्च आर्थिक वृद्धिमा पुग्ने भनेको छ । दोब्बर आर्थिक बृद्धिका लागि १७ खर्ब आवश्यक छ । त्यो पैसा कहाँबाट आउने ’ उनले भने । सरकारले कार्यक्रम दिए पनि कतिपय योजनाहरु असम्भव जस्तै भएको उनको भनाई छ ।
योजना बनाए पनि अहिलेका दुरावस्था सुधार्न नसकिएको बेला ठूला योजना बुन्न उपयुक्त नभएको उनको धारणा छ । हाइवेमा जहाज ल्यान्ड गर्ने भनिएको जानकारी गराउँदै उनले भने, त्यहाँसम्म प्रधानमन्त्री ज्यूले सोच्नु भएको छ । तर अहिले भएको एकमात्रै एयरपोर्टको दुरावस्था छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि काठमाडौंमा मास्क लगाउनुपर्दैन भनेकोमा अहिलेसम्म धूलो नियन्त्रण गर्न नसकेको बताउँदै सिंहले भने, ’स्याटलाइट उडानको कुरा छ । धुँलो उडेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीहरुले चाहिँ मास्क फुकाल्नु भएको होला तर जनताले फुकाल्न सकेक छैनन् ।’ पैसा नभएकोले सपना देखे जस्तो । विद्यार्थीले निबन्ध लेखे जस्तै सरकारको नीति तथा कार्यक्रम आएको छ’ उनले थपे । नीति तथा कार्यक्रममा समावेश गरिएका केही विषय सकारात्मक रहे पनि कार्यान्वयन भने मुस्किल रहेको उनले उल्लेख गरेका छन् ।
यस्तै बालकृष्ण खाँणले देखिएको सपना पूरा गर्न सरकारसँग माग गरेका छन् । उनले भने, ’सपना देखियोस् तर काम गर्न नसक्ने सपना नदेख्नुहोस् ।’ खाँडले सरकारले संविधानको मूल्य र मान्यता विपरीत गतिविधि गरेको आरोप लगाउँदै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नै गलत संस्कार स्थापित गर्न खोजिएको बताएका छन् । प्रस्तुत नीति तथा कार्यक्रममा चालू आवको नीति तथा कार्यक्रमका विषयलाई निरन्तरता नदिइएको उनले गुनासो गरेका छन् ।
कांग्रेसकै अर्का सांसद देवेन्द्रराज कँडेलले मदन भण्डारी र जीवराज आश्रित हत्याबारे पत्ता नलागेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । कँडेलले भने, ‘मनदभण्डारीको नाममा विश्व विद्यालयको कुरा आयो तर, मदन भण्डारी र जीवराज आश्रितको हत्या पत्ता लगाउन सरकार किन सक्दैन ? यसतर्फ ध्यान जाओस् ।’ २०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटना हुँदा भण्डारी र जीवराज आश्रितको मृत्यु भएको थियो ।
यो दुर्घटनालाई योजनाबद्ध भनेर भनिदै आए पनि पुष्टि भएको छैन । नेता कँडेलले राष्ट्रपतिले मेरो सरकार भनेकोमा पनि आलोचना गरे । ‘हामी नेपाली रैती रहेछौं कि !’, उनले थपे, ‘जनताको नाममा सर्वहाराको नाममा अर्को तानाशाहलाई अगाडि सारेका छौं ?’
सांसद उमा रेग्मीले सरकारको नीति तथा कार्यक्रमले यर्थाथतालाई अवलम्बन गर्न नसकेको आरोप लगाएकी छिन् । संघीय समाजवादी फोरमका उमाशङ्कर अरगरियाले कृषि, पर्यटन, जलविद्युत् क्षेत्रलाई प्रस्तुत कार्यक्रममा प्रमुख प्राथमिकता दिइएकामा धन्यवाद दिएका थिए ।