धनगढी, वैशाख २६ । सुदूरपश्चिम प्रदेशमा स्वदेशी उत्पादित सिमेन्टले बजार लिएपछि भारतमा उत्पादित सिमेन्टको आयात ठप्प भएको छ । व्यापारीले यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको जानकारी गराएका छन् ।
बजारको मागअनुसारको परिमाणमा नेपालका सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्न थालेपछि सिमेन्टका लागि भारतसँग रहेको निर्भरता पनि हटेको छ । सिमेन्ट उत्पादनका क्षेत्रमा पछिल्लोपटक नेपालमा भएको उपलब्धिले दाङस्थित सोनापुर मिनरल एण्ड आयल प्रालिका सञ्चालक श्याम तायलले भारतीय सिमेन्ट आयात रोकिएको स्पष्ट पारे । तायलले नेपालमा सिमेन्टको निर्माण लागत भने भारतमा भन्दा बढी रहेको समेत बताए ।
“सरकारले कोइलाको आयात र बिजुली महसुलमा छुट दिन सके निर्माण लागत कम पर्ने र उपभोक्ताले हालको भन्दा सस्तोमा सिमेन्ट पाउन सक्नेमा उनले जोड दिए ।” उत्पादन गर्ने कम्पनीअनुसार सिमेन्टको गुणस्तर पनि फरक–फरक हुने गरेको बताइएको छ ।
नेपालमा हाल सञ्चालनमा रहेका ५० भन्दा बढी सिमेन्ट उद्योगले दैनिक झण्डै २० हजार टन सिमेन्ट उत्पादन गरिरहेको अनुमान गरिएको छ । नेपालका दाङ, भालुवाङ, भैरहवा, हेटौँडा, मिर्चैया, हिले, नवलपरासी, उदयपुरलगायतका क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । यस क्षेत्रमा नेपाली सिमेन्ट प्रतिबोराको बजार मूल्य हाल रु ७६० देखि ७८० सम्म रहेको छ ।
भन्सार नाका हुँदै विसं २०७४ सम्म भारतीय सिमेन्ट आयात भएकामा त्यसपछि आयात बन्द भएको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले बताएका छन् । सिमेन्ट आयात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार र अन्तःशुल्क लाग्ने गरेको छ । स्वदेशमा उत्पादिन सिमेन्ट सुदूरपश्चिम प्रदेशमा आयात नहुँदा २०७४ अघिसम्म यस क्षेत्रमा निर्माण गरिने भौतिक संरचनामा भारतबाट आयात हुने सिमेन्ट चलाउने गरिएको थियो ।