स्वाइन फ्लुबाट आफुपनि बचौं अरुलाई पनि बचाऔं

गत वर्षको पुस महिनादेखि अहिलेसम्ममा स्वाइन फ्लुको कारण ६ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी रोग महाशाखाले जनाएको छ । महाशाखाको जानकारी अनुसार झापा, भरतपुर, पोखरा लगायत अन्य जिल्लामा अहिले स्वाइनफ्लुको भाइरस फैलिएको छ ।

स्वाइनफ्लु भएमा खोकी लाग्ने, घाँटी दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखा पर्ने गर्दछन् । तर यसलाई सामान्य मानेर बेवास्ता गर्दागर्दै ६ जनाको ज्यान गइसकेको छ । बान्ता हुने, पखाला लाग्ने र उच्च ज्वरो आउने यी सामान्य रोगका लक्षणहरु पनि खतराका संकेत हुन् । यी मध्ये कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य सस्थामा गई जाँच गराउनको लागि डा. बाबुराम मरासिनीले सुझाव दिएका छन् । महाशाखाले दिएको जानकारी अनुसार अहिले झापा, भरतपुर, पोखरा लगायत अन्य जिल्लामा स्वाइनफ्लुको भाइरस फैलिएको छ ।

इपिडिमियोलोजी रोग महाशाखाका कर्मचारी गुणनिधि अधिकारीले दिएको जानकारी अनुसार टिचिङ अस्पताल, ग्राण्डी अस्पताल र ग्रिनसिटी अस्पतालमा स्वाइनफ्लुका कारण बिरामीहरुको मृत्यु भएको छ । पुसदेखि अहिलेसम्म ८२ जना बिरामीहरुलाई स्वाइनफ्लु भइसकेको पुष्टि भएको छ । यो संख्या अझै बढी हुन सक्ने अधिकारी बताउँछन् । इपिडिमियोलोजी रोग महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनीका अनुसार स्वाइनफ्लु मौसमको कारणले गर्दा पनि लाग्ने गर्छ । चिसो र तातो मौसम परिवर्तन भइरहने भयो भने स्वाइनफ्लुको भाइरस फैलने गर्छ । अहिले काठमाडौंमा छिनमै पानी पर्ने र छिनमै घाम लाग्ने मौसम भएकाले स्वाइनफ्लुको भाइरस फैलिएको मरासिनी बताउँछन् ।

स्वाइनफ्लुका बिरामीहरुको अस्पतालमा चाप बढेको समेत उनले बताए । ग्रिनसिटी अस्पतालमा पोखराबाट उपचार गराउन आएकी ३६ वर्षकी महिलाको स्वाइनफ्लुको कारण मृत्यु भएको छ ।स्वाइनफ्लुकै कारण झापा बिर्तामोडमा पनि दुई जना महिलाको मृत्यु भएको अधिकारीले बताए । उनीहरुको पनि उपचारकै क्रममा मृत्यु भएको हो । मरासिनीका अनुसार स्वस्थ मानिसलाई स्वाइनफ्लुले सजिलै असर गर्न सक्दैन । महिला, बालबालिका तथा रोगी मानिसहरुलाई स्वाइनफ्लुले चाडै असर गर्ने उनी बताउँछन् । सुगर, प्रेसर, मुटुरोग,मृगौला तथा अन्य दीर्घरोगको सामना गरिरहेका मानिसहरुलाई यसको खतरा भएको उनको भनाई छ । त्यस्ता खालका बिरामीलाई रोगसँग लड्न सक्ने क्षमता कम हुने भएकाले ती मानिसहरुलाई यो गोगले चाँडै असर पुर्याउने अधिकारी बताउँछन् । उनले भने– ‘स्वस्थ मानिसले डराउनु पर्ने केही छैन । केही सावधानी अपनाए यसले खासै केही असर गर्दैन ।’ स्वाइनफ्लु भनेको मौसमी रुघाखोकी (सिजनल फ्लु) को प्रकार हो । रुघाखोकी बिग्रिएर यसले असर गर्न सक्छ ।

मरासिनीका अनुसार रुघाँखोकी लाग्ने बित्तिकै डराउनुपर्दैन । तर, सावधान भने रहनुपर्छ । एच वन एन वान भाइरसको रुपमा स्वाइनफ्लुलाई चिनाइन्छ । प्रत्येक वर्ष यो भाइरस फैलने देखिएको छ । रुघाखोकी, ज्वरो जस्ता सामान्य रोग बिग्रिएर यो भाइरस फैलने मरासिनी बताउँछन् । साधारण लक्षण देखिनासाथ अस्पताल गएर जाँच गरी औषधि खाएमा यसबाट सजिलै बच्न सकिने मरासिनी बताउँछन् । बाहिर हिँड्दा मास्क लाएर हिँड्ने, चिसोमा न्यानो लुगा लगाउने जस्ता साधारण सावधानी गरेमा यसबाट बच्न सकिन्छ । सरसफाइमा विशेष ध्यान दिएमा यो भाइरस सजिलै फैलन सक्दैन । मरासिनीका अनुसार स्वाइनफ्लुका लक्षण देखिएका मानिसहरु एक्लै बसेमा पनि आफू र अरुलाई यस रोगबाट बचाउन सक्छन् । तातोपानी खाने, नुनपानीले कुल्ला गर्ने गरेमा पनि यो रोगबाट बच्न सकिन्छ ।