आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन क्षेत्र

काठमाडौं, वैशाख २७ । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले विशेष प्राथमिकता दिएको जानकारी गराएका छन् ।

होटल एशोसिएशन अफ नेपाल (हान) को ४६ औँ वार्षिक साधारणसभा उनले पर्यटकीय पूर्वाधार निर्माणलाई विशेष प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरेका छन् ।

उनले सरकारले घोषणा गरेको सन् २०२० नेपाल भ्रमण वर्षलाई सार्थक तुल्याउन सरकार र निजी क्षेत्रको सक्रिय साझेदारिताका आधारमा प्रवद्र्धनका काम प्रभावकारी रुपमा अघि बढाइने स्पष्ट पारेका छन् । कार्यबाहक प्रधानमन्त्री पोखरेलले सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’का चाहनालाई सार्थक तुल्याउने महत्वपूर्ण माध्यम पनि पर्यटन नै भएको दावी गरेका छन् ।

उनले भने, पर्यटनमा फड्को मार्न नीतिगत तथा संरचनागत सुधार गरेर अघि बढौँ, पर्यटनको विकासका लागि सडक यातायात र विमानस्थल विस्तार पहिलो प्राथमिकताका विषय हुन् । उनले उद्योग, पूर्वाधार विकास तथा पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रलाई प्रथामिकता दिएर ल्याइएको सरकारको नीति तथा कार्यक्रमको आधारमा आगामी बजेट कार्यक्रम तय हुने र त्यसमा आर्थिक समृद्धिको सम्भावना बोकेका पर्यटनलगायत क्षेत्रको विकासलाई विशेष महत्व दिइने जानकारी गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कार्यबाहक सचिव सुरेश आचार्यले भ्रमण वर्षलाई सफल बनाउन पर्यटकीय गन्तब्यको प्रवद्र्धन, सेवा विविधिकरण तथा गुणस्तर अभिवृद्धि गरी राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको क्षमता बढाउने गरी व्यवस्थापकीय कार्य भइरहेको बताएका छन् । हानका नवनिर्वाचित अध्यक्ष सिर्जना राणाले भ्रमण वर्षलाई सार्थक बनाउन सरकारसँग साभेदारिका साथ कार्यक्रम ल्याइने बताएकी छिन् ।