ललितपुर, वैशाख २७ । जिल्लाको सबैभन्दा बढी सवारी चाप रहने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक निर्माणको काममा प्रगति हुननसकेको हो । सर्वाेच्च अदालतले सरकारलाई तत्काल विस्तारको काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले जानकारी गराएको छ ।
अदालतको अर्काे आदेश नआउँदा काममा प्रगति नहुने आयोजनाका प्रवक्ता इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले जानकारी गराएका छन् । उनले भने, हामी आफैँले ठेक्का सम्झौता भएजति ठाउँ खाली गर्न नसक्दासम्म भौतिक प्रगति हुँदैन । विस्तारित यस सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएको इञ्जिनीयर श्रेष्ठले बताएका छन् । पटकपटक अनुरोध गर्दासमेत विद्युतीय संरचना नहट्दा बाधा पुगेको उनको भनाई छ ।
उनले स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन नमानेको स्पष्ट पारेका छन् । ‘साइट’ खाली गर्न नसक्दा सडक सम्पन्न हुनुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम नसकिएको आयोजनाले जानकारी गराएको छ । सडकको निर्माण विसं २०७३ जेठमा शुरु भएको थियो ।
विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको थियो । उनले भने, ठेकेदारले ढिलाइ गरेको भन्दा पनि अदालतको निर्णयले काम अघि बढाउन नसकिएको हो । आयोजानले काठमाडौँ उपत्यकाका १२ सडकमा विस्तारको काम शुरु गरिरहेकामा अधिकांश सडकको भौतिक प्रगति कम छ ।