अलपत्र बालबालिकाको उद्धार

काठमाडौं, वैशाख २७ । काठमाडौँको गोल्फुटारस्थित न्यू कर्णाली होस्टेलबाट १९ बालबालिकाको उद्धार गरिएको छ । होस्टेल सञ्चालक जय विश्वकर्माले कालिकोट, हुम्ला, डोल्पा र बाँके जिल्लाबाट अभिभावकलाई विभिन्न प्रलोभनमा पारी बालबालिकालाई छात्रवृत्तिमा पढाउन तथा पालनपोषण गर्न भनी ल्याएर अलपत्र पारेको खबर प्राप्त भएपछि बालबालिकाको उद्धार गरिएको हो ।

केन्द्रीय बाल कल्याण समिति, नेपाल प्रहरी महाराजगञ्ज र बालबालिका खोजतलास केन्द्रलगायतको संयुक्त पहलमा ती बालबालिकालाई उद्धार गरिएको छ । कर्णाली होस्टेल नाम राखिएको भए पनि होस्टेल वा बालगृहका रुपमा सञ्चालन गरेको नपाइएकाले बालबालिकाको उद्धार गरिएको केन्द्रीय बालकल्याण समितिका प्रवक्ता रामबहादुर चन्दले जानकारी गराएका छन् ।

कोलीकोटका १३ जना, हुम्लाका चार, डोल्पा र बाँकेका एक÷एक जना गरी १४ बालक र पाँच बालिकाको उद्धार गरिएको हो । प्रवक्ता चन्दका अनुसार उद्धार गरिएका बालबालिकालाई अल्पकालीन संरक्षण केन्द्रमा राखी पारिवारिक पुनःमिलनका लागि काम भइरहेको छ ।