मौलिकता झल्काउने विषयमा पठनपाठन गराउन प्रधानमन्त्रीको आग्रह

साउन २६ । सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउनका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको छैटौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले त्यस क्षेत्रको भाषा, संस्कृति र मौलिकता तथा पहिचान झल्काउने विषयवस्तुमा ध्यान दिनका लागि अनुरोध गरेका हुन् । सो विश्वविद्यालयले आंगिक क्याम्पसको सम्बन्धन विस्तारको कार्यलाई प्राथमिकता दिनको लागि पनि देउवाले अनुरोध गरे ।

बहुविश्वविद्यालयको अवधारणा बमोजिम २०६७ सालमा कञ्चनपुरको पुनर्वासमा रहेको ६२ बिगाहा जमिनमा स्थापित सो विश्वविद्यालयले व्यवस्थापन, मानविकी, शिक्षा र सामाजिक शास्त्र संकायमा स्नातक र स्नातकोत्तर तथा इञ्जिनियरिङ र विज्ञानमा स्नातक तहको कक्षा सञ्चालन गरिरहेको छ । विकासका दृष्टिमा सधँै पछि परेको क्षेत्रको विश्वविद्यालयले आफ्ना योजना अनुसार कार्यक्रम अघि बढाउन भन्दै सरकार आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए । उक्त अबसरमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले सो विश्वविद्यालयका लागि आवश्यक पर्ने थप बजेट निकासाका लागि सरकार सकारात्मक रहेको बताए ।

आउँदो मंसिरमा हुने पहिलो दीक्षान्तमा करिब ४०० विद्यार्थी सहभागी हुनेछन् । विश्वविद्यालयका उपकुलपति प्रा भूषण श्रेष्ठले यस वर्षदेखि दीक्षान्त समारोहको आयोजना हुने र कृषि संकायको अध्ययन अध्यापन शुरु गरिएको बताउँदै माग गरिएको बजेट निकासाका लागि सरकारसँग अनुरोध गरे । उक्त विश्वविद्यालयले गत आवमा १५ वटा क्याम्पसलाई आंगिक बनाउन रु १९ करोड विनियोजन गरेकामा दरबन्दी प्राप्त नभएकाले रोकिएको छ । नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले विश्वविद्यालयले यसअघि निर्णय गरेर पनि १५ क्याम्पसलाई आंगिक नबनाएकामा चिन्ता व्यक्त गर्दै सरकारले आवश्यक बजेट दिनुपर्ने बताए ।