खोटाङ्गमा असिना पानीसँगै परेको चट्याङद्वारा आठ घाइते

खोटाङ्ग, बैशाख ३० । खोटाङमा हावाहुरी र असिना पानीसँगै परेको चट्याङले आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले घाइते हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले जिल्ला अस्पताल दिक्तेलमा घाइते सबैको उपचार भइरहेको बताएका छन् । उनीहरुलाई उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा प्रहरी र स्थानीयवासीले ल्याएका थिए । घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले बताएको छ । स्रोतका अनुसार उनको स्वास–प्रश्वासमा समस्या देखिएको बतााइएको छ ।