काठमाडौं, जेष्ठ ३ । स्व नेता मदन भण्डारी तथा जीवराज आश्रितप्रति प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
उनीहरुको २६ औँ स्मृति दिवसको अवसरमा आज एक सन्देशमार्फत् श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । ‘जनताको बहुदलीय जनवादका प्रतिपादक तथा नवीन विचारक जननेता मदन भण्डारी तथा कुशल सङ्गठक जीवराज आश्रितप्रति सन्देशमा मुख्यमन्त्री पौडेलले भावपूर्ण श्रद्धाञ्जलि’ उल्लेख गरे ।
हेटौँडाको शहीद स्मारकमा रहेको मदन भण्डारीको शालिकमा आजै मुख्यमन्त्री पौडेलले मार्ल्यापण गरेका हुन् । आज बिहान भएको श्रद्धाञ्जलि तथा माल्यार्पण कार्यक्रममा मुख्यमन्त्री पौडेलसहित प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, प्रदेशसभा सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको उपस्थिति रहेको थियो ।
मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले कार्यक्रममा मुख्यमन्त्रीसहित सहभागीले स्व नेता भण्डारी र आश्रितको व्यक्तित्वको चर्चा गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको जानकारी दिएकान हुन् ।