नाम्खा, जेष्ठ ५ । महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महिनावारी हुँदा स्वास्थ्य हनुपर्ने तरिका तथा प्याड बनाउन एकदिने तालीम दिइएको छ । स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले महिलालाई महिनावारीको समयमा सुरक्षित राख्नका लागि पहिलोपटक सो गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा अध्यायनरत माविस्तरका किशोरी र अन्य किशोरीलाई महिनावारीमा सुरक्षित रहन र प्याड बनाउने तालीम दिएको बताएका छन् ।
महिलाले अधिकांश गाउँमा लाजमान्दै रोग लुकाउने गर्दा पछि नराम्रो परिणाम आउने भएकाले लाज नमानी आफूलाई लागेको रोगका बारेमा जानकारी गराउन आग्रह गर्दै उनले विकृति, विसङ्गति र अन्धविश्वास अन्त्य गर्न पहल गरिने बताए ।
स्वास्थ्य शाखाका सहसंयोजक दानबहादुर बोहोराले हरेक किशोरी तथा प्रौढ महिलामा महिनावारीमा सुधार ल्याउनाका साथै सरसफाइमा ध्यान दिन लगाइ उनीहरुको गरिमा र आदर बढाउन तालीम आयोजना गरिएको जानकारी गराएका छन् ।