एटिएम मेसिनमा भएको भाषाका कारणले कहि कसैलाई समस्या नपरोस् भन्ने हेतुले नेपाल राष्ट्र बैंकले एटिएम मेसिनमा नेपाली भाष अनिवार्य गर्न जोड दिएको छ । उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै त्यसको उचित समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले एटिएम मेसिनमा नेपाली भाषाको समेत सहज प्रयोग गर्ने गराउने वातावरण बनाउन लागिपरेको हो ।
सहज रुपमा आवश्यक रकम निकाल्नका लागि प्रयोगमा ल्याइएका एटिएम मेसिनमा नेपाली भाषा प्रयोगमा नल्याइँदा ग्राहकले असुविधा भोग्ने गरेको नेपाल राष्ट्र बैंकको ठहर छ । राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएका एटिएममा नेपाली भाषा रहेको भए पनि अन्य बैंक तथा वित्तीय संस्थाका एटिएम मेसिनमा भने नेपाली भाषा नराखिदा सर्वसाधारण मार्कामा पर्ने गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटिएम मेसिनमा नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने सुविधा नभएको भनी गुनासो प्राप्त भएकाले केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको हो । सबै जनताको पहुँच पुगोस् भन्ने हेतुले नेपाल राष्ट्र बैंकले सबै बैंकमा नेपाली भाषा समावेश गर्नु पर्ने जनाएको छ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘अटोमेटेड टेलर’ मेसिनमा नेपाली भाषा प्रयोग गरी कारोवार गर्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाली भाषा प्रयोग गरी एटिएम चलाउन सकिने व्यवस्था गरी सो को जानकारी गराउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । बैंकले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र एटिएम मेसिनमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोवार गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने व्यवस्था मिलाइएको नपाइएमा भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ अनुसार कारवाही गरिने राष्ट्र बैंकले जानकारी गराएको छ । विज्ञान प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाले पछिल्ला दिनमा ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ एटिएम मेसिन सञ्चालनमा ल्याए पनि सो मेसिनमा पनि विभिन्न समस्या नभएका भने होइनन् ।
बैंकहरुले नयाँ नयाँ प्रविधि भित्¥याउ निकै हतार गरे पनि त्यसलाई कसरी व्यवस्थित गर्ने र सेवाग्राहीलाई कसरी छिटो छरितो रुपमा सेवा दिने भन्ने कुरामा भने खासै प्रतिस्पर्दा भएको पाइन्दैन । अहिले सम्म बैंक तथा वित्तीय संस्था, वित्त कम्पनी तथा सहकारी संस्थाले समेत एटिएम मेसिन सञ्चालनमा ल्याइ सकेका छन् ।
नेपाल राष्ट्र बैंकले देशभर ४० लाख ७१ हजारले नियमित रुपमा एटिएम कार्ड प्रयोग गर्ने गरेको जानकारी गराएको छ । कूल ५९ लाख ६० हजारले एटिएम कार्ड लिएका पनि प्रयोगमा भने ४० लाख ७१ हजारमात्र आएको जनाइएको छ । सरकारले नयाँ वर्षको शुरुआतसँगै शुरु गरेको ‘खाता खोलौँ’ अभियानले पनि एटिएम कार्ड लिनेको संख्या ह्वात्तै वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।