काठमाडौँ, जेठ ७ । १४४औँ विश्व नापतौल दिवस नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा मनाइएको छ । सोमबार ‘अन्तर्रा्ष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने मूल नाराका साथ विभागको परिसर बालाजुमा सो दिवस मनाइएको हो ।
विश्वभरि नापतौलमा एकरूपता ल्याउने उद्देश्यले कार्यक्रममा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सो दिवस मनाउँदै आएको जानकारी दिएका छन् । विभागले पछिल्लो समय विदेशमा उत्पादित कम्पनीका सामग्रीलाई पनि एनएस (नेपाल गुणस्तर) चिह्न प्रदान गर्दै आएको छ ।
विश्व नापतौल दिवसका अवसरमा विभागले मेट्रिक प्रणालीमा आधारित सात मूल एकाइमध्ये चार एकाइको परिभाषामा भएको परिवर्तन सोमबारदेखि लागू गरेको छ, जसमा पिण्डको मूल एकाइ किलोग्राम, तापक्रमको मूल एकाइ केल्भिन, विद्युत् धाराको मूल एकाइ एम्पियर र पदार्थको सङ्ख्याको मूल एकाइ मोलका रुपमा परिवर्तन भएको छ ।
विभागले सन् १८७५ मा लगभग आजभन्दा १४४ वर्ष अगाडि आजकै दिनमा मिटर कन्भेन्सनमा हस्ताक्षर भएपश्चात् विश्वभर उक्त दिवस मनाउँदै आइएको जनाएको छ ।