सिन्धुली, जेठ ७ । अहिलेको सरकारलाई नेपाली काङ्ग्रेसले लोकतान्त्रिक संस्कार सिकाउने नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले बताएका छन् ।
सरकारले चालेका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको भन्दै उनले प्रतिपक्षको तर्फबाट सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउने जानकारी दिए । प्रेस युनियनले सोमबार सिन्धुलीमाढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार अलोकतान्त्रिक भएको र जनभावनाविपरीत विभिन्न गतिविधि गर्दै आएकाले सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउन काङ्ग्रेसले रचनात्मक भूमिका खेल्ने प्रष्ट्याए ।
सरकारले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने उनको भनाइ छ । उनले विधेयकको विरोध नेपाली काङ्ग्रेसले खुलेर गरेको र पत्रकारको हकहितका लागि आफ्नो पार्टी पत्रकारसँगै रहने बताए ।
जनतालाई आतङ्कित बनाएको भन्दै उनले प्रेस स्वतन्त्रता नभए पञ्चायत, राणाकालभन्दा पनि डरलाग्दो अवस्थामा यो सरकारले देशलाई लैजान लागेको बताउँदै अराजकतासँगै मुलुकलाई अस्थिरतातिर लैजाने अहङ्कारको खिलाफमा देशभर काङ्ग्रेसले जागरण अभियान चलाएको उनको तर्क छ ।
अहिले देशमा भ्रष्टाचार, अत्याचार बढ्दै गएको सुशासन कायम नभएको समेत भन्दै उनले चिन्ता व्यक्त गरे । नेपाली काङ्ग्रेसले सरकारका बेथितिविरुद्ध राष्ट्रिय जागरण अभियान शुरु गरेकाले साथ दिन समेत उनले आग्रह गरेका हुन् ।