चन्द्रागिरिमा बल्ल पुनर्निर्माण भए एक हजार २८२ घर

चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण कार्य सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले क्षति पुर्याएका पाँच हजार ७८५ घरमध्ये एक हजार २८२ घर मात्र पुनर्निर्माण सम्पन्न भएको जानकारी गराइएको छ ।

भूकम्पले क्षति पु¥याएका पाँच हजार ७८५ घरमध्ये चार हजार ७६२ घर पुनर्निर्माणका लागि नगरपालिकाले अनुदान सम्झौता गरेको नगरपालिकाका उपप्रमुख लिसा नकर्मीले बताएकी छिन् । बाँकी घरले पनि चाँडै नै अनुदान सम्झौता गर्ने उनले सुनाइन् । चार हजार ७६२ घरले पहिलो किस्ता, एक हजार ३८० घरले दोस्रो किस्ता र एक हजार २८२ घरले पुनर्निर्माण सम्पन्न गरेर अन्तिम किस्तासमेत लिइसकेको जनाइएको छ ।

नगरपालिकाले सरकारले तोकेको रकमअनुुसार पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनर्निर्माण भएपछि तेस्रो किस्ताबापत रु एक लाख प्रदान गर्दै आएको छ । काठमाडौँको दक्षिण पश्चिम भेगमा रहेको उक्त नगरपालिकामा चन्द्रागिरि, दहचोक, इन्द्रदह, काजी कालु पाण्डे समाधिस्थल, मातातीर्थलगायतका धार्मिक तथा ऐतिहासिक स्थलहरु रहेका छन् ।

चन्द्रागिरि नगरपालिका काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । सो नगरपालिकामा १५ वटा वडा रहेका छन् । नगरपालिकाका प्रमुख घनश्याम गिरीले भूकम्पपीडितको निवेदनका आधारमा नगरपालिकाले पुनर्निर्माणका लागि रकम वितरण गर्दै आएको स्पष्ट पारेका छन् । घरको क्षतिका आधारमा विभिन्न वडाबाट आएको सिफारिशका आधारमा रकम प्रदान गर्दै आएको उनले सुनाए ।