त्रिशूलीमा ट्रक खस्यो

चितवन, जेठ १० । भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर आउँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी ३२ एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो ।

सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ ।

उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । आँप बोकेर काठमाडौँ आउँदै गरेको मिनीट्रक आज बिहान २ः२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जानकारी गराएको छ ।