प्रधानमन्त्री ओलीले दोहोरी कलाकार हुन रोस्ट्रमबाट दोहोरीमा जवाफ दिन थाले : नेता खाँण

काठमाडौं, जेठ १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली शक्तिको उन्मादले निरंकुश शैलीमा राजा ज्ञानेन्दको पथमा हिँड्न थालेको आरोप लगाएका छन् ।

बैशाख २५ गतेबाट शूरु भएको पार्टीको जारी राष्ट्रिय जनजागरण अभियान अन्र्तगत शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा पर्ने किर्तिपुरमा अयोजित कार्यक्रममा नेता खाँणले शक्तिको उन्मादले केपी ओली निरंकुश शैलीमा राजा ज्ञानेन्द्र पथमा हिड्न थालेको बताएका छन् । उनले बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्थाको विपरित गएर ओली सरकार अघि बढिरहेको जनाएका छन् ।

नेता खाँडले ओलीको सकिने दिन आउँदै गरेको संकेत गरेका छन् । विश्वमा समाप्त भएको कम्युनिस्टले नेपालमा एक दलिय शासन लाद्न खोज्दा जनताको हक, अधिकार कुण्ठित हुने भन्दै नेता खाँणले कांग्रेस सदैव सचेत हुन जरुरी रहेको औंल्याएका छन् । उनले सरकारका नराम्रा कर्तुतको समाचारहरु एकपछि अर्कोगरी सञ्चार माध्यममा आउन थाले पछि प्रधानमन्त्री ओली मिडियालाई नियन्त्रण गर्न उद्दत रहेकोे आरोप लगाएका छन् ।

उनले भने, आफ्नै सरकारको कर्तुतका समाचारहरु आइरहेका हुँदा दिनदिनै समाचार पढ्नु पर्दा, सुन्नु पर्दा औषधी नै औषधीले बाँचेका ओलीको प्रेसर र ज्वरो अधिकतम भएकाले मिडियामा अंकुश लगाउदै छन् । प्रधानमन्त्रीले देखाउने व्यावाहार हास्य कलाकार जस्तो दखिएकाले अब दोहोरी कलाकार हुन रोस्ट्रमबाट दोहोरीमा जवाफ दिन थालेको बताएका छन् ।

नेता खाँणले नेपालको राजनीतिक इतिहासमा पहिलो पटक प्रधानमन्त्रीले संसदमा बोलेका शब्दहरु रेकर्डबाट हटाइएको पनि टिप्पणी गरेका छन् ।