नेपाल सरकार तातोपानी नाका खुलाउन आतुर छ : गृहमन्त्री थापा

काठमाडौं, जेठ १२ । गृहमन्त्री रामबहादुर थापा र व्यवसायीहरुको छुट्टाछुट्टै टोलीले नाकाको अवलोकन गरेका छन् । चिनियाँ पक्षले आगामी सातासम्ममा तातोपानी नाका सञ्चालनमा ल्याउने भएपछि उनीहरुले सो नाकाको अवलोकन गरेका हुन् ।

आगामी साताबाट नाका संचालनमा आउने भएपछि सो क्षेत्रको तयारीका विषयमा अवलोकन गर्न दुवै टोली शनिबार तातोपानी नाका पुगेको बताइएको छ । अवलोकनपछि गृहमन्त्री थापाले नाका छिटो खुलाउन नेपाल सरकार तयार रहेको जानकारी गराएका छन् ।

गृहमन्त्री थापाले लामो समयदेखि बन्द रहेको नाका खुला भए दुवै देशलाई राम्रो हुने भन्दै यसका लागि नेपाल सरकारबाट गर्नुपर्ने काम तिव्र रुपमा भइरहेको जानकारी गराएका छन् ।

नाका सञ्चालनमा आएपछि हुने सुरक्षा लगायतका कामहरु गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई छ । उक्त नाका सञ्चालनमा आएपछि सामानहरुको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने व्यवसायीहरुले माग गर्दै आएका छन् । व्यवसायीहरुको मागलाई मनन् गर्दै सो क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिने गृहमन्त्री थापाले प्रतिवद्धता जनाएका छन् ।