संविधानको मर्म, भाव विपरित ओली सरकार : प्रकाशमान

काठमाडौं, जेठ १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको काम र व्यवहार दुवै देशलाई गलत बाटोतर्फ धकेल्ने भएको बताएका छन् । नेता सिंहले वर्तमान सरकार संघीयता असफल बनाउने खेलमा क्रियाशील रहेको आरोप लगाएका छन् । उनले ओलीको बोली र काम गराई संविधानको मर्म, भावविपरित भएको भन्दै त्यसबाट संवैधानिक संकट आउने सक्ने खतरा औंल्याएका छन् ।

नेता सिंहले सरकारको गलत रवैयाप्रति सजग रहन र निरन्तर खबरदारी गरिरहन राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा सबै कार्यकर्ता सरकारसँग सजग र सतर्क रहन अपिल गरेका छन् । ‘प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको उनको भनाइ छ ।

उनले भने संविधान केही होइन, अब म जे बोल्छु त्यही नै सबैले मान्नुपर्छ भने जस्तोगरी प्रस्तुत हुनु अशोभनीय छ, ‘दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्नुपर्छ ।’नेता सिंहले प्रधानमन्त्री ओलीले आफ्नो व्यवहार र कार्यशैलीलाई परिवर्तन नगरे जनतासँगको भावनात्मक सम्बन्ध टुट्ने र अहंकार पनि अन्त हुने चेतावनी दिएका छन् । उनले जनअपेक्षा धेरै भए पनि वर्तमान सरकार भाषणमा मात्र सीमित रहेको बताउँदै यो सरकार कान्डै कान्डमा मुछिएकाले अहिलेको सरकारबाट कुनै आश गर्न नसकिने स्पष्ट पारेका छन् ।

आफु कांग्रेसको कार्यकर्ता हुँ भन्दै हिड्ने, तर अनुशासनमा नबस्ने, कुनै नेता विशेषको बनेर पार्टीभित्र असहयोग गर्नेहरुलाई ठेगान नलगाउँदासम्म कांग्रेस बलियो नहुने जिकिर गरेका छन् । नेता सिंहले राजधानीबासीको सबैभन्दा चासो र सरोकार जोडिएको मेलम्ची खानेपानीको काममा भ्रष्टाचार भएका कुराहरु सार्वजनिक भइरहेकाले यो दुःखद भएको बताएका छन् । ‘मन्त्री र सचिवले ठेकेदार कम्पनीसँग पैसा मागेकाले ठेकदार कम्पनीले हात झिकेको कुरा आइरहेको उनको भनाइ छ । उनले भ्रष्टाचारका मुद्दाहरुमा निष्पक्ष ढंगले छानबिन गरेर दोषीलाई दन्डित गर्न समेत सरकारले आनाकानी गरिरहेको आरोप लगाएका छन् ।

भ्रष्टाचार गर्दिनँ भन्ने नारा जप्ने, तर ठूला भ्रष्टाचारका मुद्दाहरु ओझेलमा पार्दै जाने काम अहिलेको सरकार लागी परेको उनको धारणा छ । सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलको नेता बालकृष्ण खाँडले सरकारको गतिविधिविरुद्ध अब सडकदेखि सदनसम्म सशक्त रुपमा उत्रिने बेला आएकाले एक भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । नेता खाँडले सरकारका गतिविधि मौलिक अधिकार कुण्ठित गर्ने खालका भएकाले आफूहरु प्रेस र नागरिक अधिकारको रक्षाका लागि खरो रुपमा प्रस्तुत हुने बताएका छन् । कार्यक्रममा काठमाडौं कांग्रेस सभापति सबुझ बानियाँले पार्टीले अघिसारेका जुनसुकै गतिबिधिलाई सफल बनाउन काठमाडौं कांग्रेस तयारी अवस्थामा रहेको जानकारी गराएका थिए ।