खानेपानीको चरम अभाव खेप्दै बनेपावासी

बनेपा, साउन २७ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका स्थानयवासीले सास्ती खानेपानीको चरम अभाव व्यहोर्नुपरेको छ ।

नगरपालिकाको क्षेत्र विस्तारपछि परेको तत्कालीन साविकको टुकुचानाला गाविसको १, २, ४ र ५ नं वडाबासीले खानेपानीको अभावमा निकै कष्टकर जीवन निर्वाह गरिरहेका छन् । बनेपा नगरपालिका–१ पाण्डे गाउँका विष्णुभक्त पाण्डेका अनुसार छरिएर रहेका केही मुहानबाट आ–आफ्नो तरिकाले पानी ल्याएर उपभोग गर्दै आएको आएको हो । एक गाग्री पानी ल्याउन घण्टौँ समय बिताउनुपर्दा घरमा गर्नुपर्ने अन्य कामधन्दा गर्नको लागि निकै नै कठिनाइ भएको र यसले खासगरी महिला र बालबालिकाको कार्यबोझ बढाएको उनको भनाई छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अधिकृत रामकाजी काफ्लेले मूल व्यवस्थापनको लागि विवादित पानीको मूल हुन नहुनेमा जोड दिँदै खानेपानीको असुविधाको समस्या समाधान गर्न उपभोक्ता नै सक्रिय हुनुपर्ने बताए । जिल्लामा जलस्रोत समितिमा दर्ता भएका खानेपानीका मुहान करिब हजारवटा पुगेको भए पनि कतिपय मुहान अहिले सुकिसकेका र केही वर्षात्को समयमा मात्र थोरै पानी निस्कने गर्दछ ।